संघ र प्रदेशको चुनाव मंसीर ४ मा गर्ने सरकारको निर्णय
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसीर ४ गते गर्ने निर्णय गरेको हो। संघ र प्रदेशको चुनावै एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
यसअघि २०७४ सालमा दुई चरणमा भएको थियो। पहिलो चरणमा २०७४ मंसीर १० गते र दोस्रो चरणमा मंसीर २१ गते भएको थियो।
यस पटक स्थानीय चुनाव पनि एकै चरणमा वैशाख ३० गते भएको थियो। त्यसकै आधारमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न सकिने भनी सरकारलाई जानकारी दिएको थियो।
सत्तारूढ गठबन्धनको बुधबार बसेको बैठकले मंसीर ४ गते चुनावमा गर्ने सहमति गरेको थियो। गठबन्धनको सुझाव अनुसार, नै मन्त्रिपरिषद्को बैठकले चुनावको मितिबारे निर्णय गरेको हो।
निर्वाचन आयोगले भने मंसीर २ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको समयावधि मंसीर २२ गते सकिने आयोगको निष्कर्ष छ।