डा. कमल लामिछानेको ‘अन्तर्दृष्टि’ सार्वजनिक
डा. कमल लामिछानेको पुस्तक ‘अन्तर्दृष्टि’ शनिबार लोकार्पण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवम् शिक्षाविद् केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनीषा गौचन र लेखक लामिछानेले पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा शिक्षाविद् माथेमाले पुस्तकले गाउँघर, किसान, सहर, विकासलाई सूक्ष्म दृष्टिबाट अवलोकन गरेको बताए । साथै दृष्टिविहीन व्यक्ति, उनीहरुलाई समाज एवम् परिवारले हेर्ने दृष्टिकोण आदिलाई खुलाइएको उनको भनाइ थियो ।
कुनै पनि देशको विकासका लागि नियमकानुन, त्यसको परिपालना आदिले महत्त्वपूर्ण भूमिका खेल्ने र त्यसो भए मात्र समृद्धितर्फ अघि बढ्न सकिने कुरा पुस्तकमा उल्लेख भएको उनले बताए ।
“विशेषगरी युवाहरुका लागि पुस्तक अझ बढी उपयोेगी छ । “संघर्ष, सफलता, लगाव, प्रतिबद्धताको महत्व पुस्तकभर देखिन्छ”, उनले भने ।
उक्त कार्यक्रममा आख्यानकार गौचनले १२ वर्षसम्म विद्यालय नपुगेको लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धिलाई नेपालीहरुकै गौरवको विषय रहेको रहेको बताइन् । पुस्तकले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण एवम् उनीहरुलाई धार्मिक मूल्यमान्यताले कसरी असर गर्छन् भन्ने कुरा पनि उजागर गरेको उनको भनाइ थियो ।
अर्का वक्ता आख्यानकार अमर न्यौपानेले दृष्टिविहीनहरुले आफ्नो जीवनलाई हेर्ने दृष्टि विशाल रहेको बताए । दृष्टिविहीहरु जीवनभर ध्यानमा रहने गरेको र लामिछानेले पनि यो पुस्तक त्यही ध्यानसाधनाबाट लेखेको उनको भनाइ छ । पुस्तकले राजनीति, भूगोल, विकास, समाज आदि सबै विषयलाई खोतलेको उनले बताए ।
जापानस्थित चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत् लेखक लामिछानेले अपांगता भएकालाई समाजले हेर्ने हेयपूर्ण दृष्टिकै कारण आफूले पुस्तक लेखेको बताए । “पुस्तकबाट केही व्यक्तिको मात्र भए पनि सोचाइ परिवर्तन गर्न सके भने त्यो मेरो जीवनको एउटा सफलता हुनेछ”, उनले भने ।
अपांगता भएका व्यक्तिसँग ‘वर्किङ टुगेदर वाकिङ टुगेदर’ को भावना जगाउने आफ्नो उद्देश्य रहेको र त्यसका लागि आफू लागिपरेको उनको भनाइ छ। आफू जहिल्यै पनि चुनौतीसँग जुध्न मन पराउने र त्यही कारण अहिलेको सफलता हासिल भएको उनको भनाइ थियो ।
पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।