कटहरी गाउँपालिकाका १३ शिक्षक सेवाबाट निकालिए
मोरङको कटहरी गाउँपालिकाले प्रक्रिया पूरा नगरी नियुक्त गरेको भन्दै १३ जना शिक्षकलाई सेवाबाट हटाएको छ।
महालेखा परीक्षकको कार्यालयले १३ शिक्षकको तलबमा गएको रकम बेरुजु देखाएपछि गाउँपालिकाले उनीहरूलाई साउनदेखि सेवाबाट हटाएको हो। शिक्षकहरूलाई दिइएको रकम बेरुजु देखिएकाले साउनदेखि नै तलब पास नगरिएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए।
गाउँपालिकाले शिक्षकको तलब पास नगरेपछि पीडितहरूले अध्यक्ष चौधरीलाई भेटेर नियुक्ति प्रक्रियाका वेला आफूहरूले कर्मचारी र शिक्षकलाई रकम समेत दिएको बताएका छन्।
अध्यक्ष चौधरी शिक्षक नियुक्त गर्ने विषयमा भएका निर्णय र आवश्यक कागजात फेला नपरेको बताउँछन्। गाउँपालिकाले २०७५ सालमा नौ वटा विद्यालयमा १३ जना शिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। तर‚ नियुक्तिको कार्यविधि तयार नगरी तलब निकासा गरेको थियो।
गाउँपालिकाले रामजानकी आधारभूत विद्यालयमा सारोकुमारी सरदार र शान्तिकुमारी माझी, अम्बर आधारभूत विद्यालयमा दयावतीकुमारी सरदार, अनन्त आधारभूत विद्यालयमा कविताकुमारी राजवंशी र सरस्वती शिशु सदनमा ममता गौतमलाई नियुक्त गरेको थियो।
यस्तै‚ आधारभूत विद्यालय खयरवनामा नीरजकुमार साह र दिलीपकुमार साह, भगवती आधारभूत विद्यालयमा सरस्वती राजवंशी र विजयकुमार साह, राधाकृष्ण आधारभूत विद्यालयमा शसिताकुमारी मगर, सुन्दर आधारभूत विद्यालयमा तारा कार्की तथा जनता माविमा जगतनारायण माझी र कुम्भनारायण सरदारलाई नियुक्त गरिएको थियो।
जनता माविका प्रधानाध्यापक रामनारायण विश्वास गाउँपालिकाको आदेशमा विद्यालयले सबै प्रक्रिया पूरा गरेर शिक्षक नियुक्त गरे पनि पालिकाको कमजोरीले समस्या आएको बताउँछन्। “गाउँपालिकाको शिक्षा शाखाले प्रक्रिया पूरा नगरेकाले समस्या भएको छ‚” विश्वास भन्छन्‚ “विद्यालयहरूलाई शिक्षक आवश्यक छन्, प्रक्रिया पूरा गरेर पुनः नियुक्त गरिनुपर्छ।”
विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक नियुक्त गर्नुपर्नेमा त्यसो नभएको पूर्व वडाध्यक्ष तथा शिक्षा समिति सदस्य किशोरकुमार पाण्डे बताउँछन्। शिक्षक नियुक्त गरेपछि दरबन्दीका ११ जना शिक्षक आएकाले पनि उनीहरूको आवश्यकता नपरेको हुन सक्ने पाण्डेको भनाइ छ।
गाउँपालिका शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेल कार्यालयका कारण नभई राजनीतिक कारणले शिक्षकहरू सेवाबाट निकालिएको बताउँछन्। उनी भन्छन्‚ “पालिकाले बजेट मार्फत उनीहरूको तलब पास गरे हामी निकासा गर्छौं, नगरे सेवा अवधि सकियो।”