मन जित्ने विद्यालय
सुर्खेतका ६ वटा नमूना विद्यालयमध्ये कुनैले शैक्षिक स्तर सुधारेर त कुनैले पढाइसँगै आय आर्जनका सीप बाँडेर अभिभावक-विद्यार्थी रिझाएका छन्।
सरकारले सुर्खेतका ६ वटा विद्यालयलाई नमूना घोषणा गरेको छ। तिनमा जननमूना मावि वीरेन्द्रनगर, अमरज्योति मावि नेवारे, नेरा मावि बडाखोली, जीवनज्योति मावि दशरथपुर, जनता मावि विद्यापुर, जनज्योति मावि झिनी र जनज्योति मावि बड्डीचौर पर्छन्।
पछिल्लो समय यी सामुदायिक विद्यालयमा विद्यार्थी–अभिभावकको आकर्षण बढेको जिल्ला शिक्षा समन्वय समिति प्रमुख नारायण पौडेल बताउँछन्। “यी विद्यालयले कक्षाकोठा र पाठ्यक्रम सुधार्नुका साथै शिक्षकको हौसला बढाएका छन्,” उनी भन्छन्, “नयाँ प्रविधि अपनाएर पढाउँदै आएका छन्।” विद्यार्थी झुम्मिनुमा उनी पढाइसँगै अतिरिक्त क्रियाकलाप र दिवा खाजा कार्यक्रमलाई पनि कारण मान्छन्।
दशक अघिसम्म मुश्किलले ५०० विद्यार्थी हुने वीरेन्द्रनगरस्थित जननमूना माविमा अहिले प्रवेश परीक्षा दिनै तीन हजार हाराहारी नयाँ विद्यार्थी आउँछन्। चाप थेग्न मुश्किल परेपछि विद्यालयले कोटा निर्धारण गरेको छ। व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयमा विद्यालयले गुणस्तरीय शिक्षा दिन सकेको व्यवस्थापन समिति अध्यक्ष गोविन्द कोइराला बताउँछन्। “सरोकारवाला निकायसँग समन्वय गरेर, सुझाव लिएर अघि बढ्यौं,” उनी भन्छन्।
दशक अघिसम्म मुश्किलले ५०० विद्यार्थी हुने जननमूना माविमा अहिले प्रवेश परीक्षा दिनै तीन हजार हाराहारी नयाँ विद्यार्थी आउँछन्। विद्यार्थी झुम्मिनुमा पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि कारण मान्छन्।
२००८ सालमा स्थापित यो विद्यालय सुर्खेतकै जेठो हो। २०७१ सालमा व्यवस्थापन समिति अध्यक्ष भएसँगै कोइराला विद्यालय सुधार्न कम्मर कसेर अघि बढे। “यसका लागि समितिका पदाधिकारी नेपालका राम्रामध्येका विद्यालयमै पुगेर बुझ्यौं,” उनी भन्छन्, “आफ्नो विद्यालयलाई पनि त्यस्तै बनाउन योजना तयार पार्यौं।”
सोही विद्यालयका पूर्व विद्यार्थी सम्मिलित परिषद् बनाई त्यस मार्फत पनि सुझाव लिइयो। अध्यापन व्यवस्थित तथा विद्यार्थीलाई अनुशासित बनाउन विभिन्न नियम र आचारसंहिता बनाइए। “यी नियम एकैपटक नभई एकपछि अर्को गर्दै लागू गर्न थालियो,” उनी भन्छन्।
जननमूनाले निजी विद्यालयकै झल्को दिने गरी पोशाकमा कोट अनिवार्य गरेको छ। पढाइको समय बिहान साढे ९ देखि बेलुकी ६ बजेसम्म तोकिएको छ। विद्यालयले अतिरिक्त कक्षा पनि चलाउँछ। हरेक शनिबार परीक्षा लिइन्छ। “परीक्षापछि हरेक प्रश्नको उत्तर कुन मोडलमा लेख्ने भनेर विद्यार्थीलाई सिकाउँछौं,” कोइराला भन्छन्, “अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागी गराउँछौं।”
व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकले पनि आफ्ना छोराछोरी सोही विद्यालयमा पढाउनुपर्ने नियम बसाइएको छ। त्यसले पनि पढाइ सुधार्न सबैलाई दबाब पर्यो। कोइरालाका अनुसार, ५४.१५ प्रतिशत रहेको विद्यालयको सिकाइ उपलब्धि अहिले ७४ प्रतिशत पुगेको छ। यसलाई ८० प्रतिशत पुर्याउने लक्ष्य छ। २०७४ सालको एसईईमा ४ जीपीए ल्याउने देशभरका कुल ७४ विद्यार्थीमध्ये दुई जना यही विद्यालयका थिए। कक्षाकोठामा शिक्षकले शिक्षण र विद्यार्थीले सिक्ने वातावरण रहे विद्यालय स्वतः राम्रो हुने प्रधानाध्यापक यामबहादुर श्रेष्ठ बताउँछन्।
वीरेन्द्रनगरस्थित अमरज्योति माविले पनि आफूलाई निजी विद्यालयभन्दा अब्बल सावित गरेको छ। पहिले मुश्किलले सात सय विद्यार्थी रहेकोमा अहिले दुई हजार हाराहारी पुगिसके। “अङ्ग्रेजी माध्यमबाट पढाइन थालेपछि विद्यार्थीले सरकारी विद्यालय रोजेका हुन्,” प्रधानाध्यापक खगेन्द्र थापा भन्छन्, “अहिले निजी विद्यालय छाडेर विद्यार्थी यहाँ आउन थालेका छन्।” व्यवस्थापन समिति अध्यक्ष टीकाराम आचार्य शिक्षक, व्यवस्थापन समिति र अभिभावकको सक्रियताका कारण विद्यालय सुध्रिएको बताउँछन्।
पढाइसँगै सीप
अधिकांश विद्यालयमा सैद्धान्तिक पढाइ मात्र हुन्छ। किताबका कुरा घोकेर परीक्षामा लेख्ने अनि त्यसैका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने पद्धति छ। तर, बड्डीचौरस्थित जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलले आफ्नो विद्यालयमा व्यावहारिक शिक्षालाई चरितार्थ गरेका छन्। उनले शुरू गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमले राष्ट्रिय अभियानकै रूप लिएको छ जसलाई सरकारले समेत अङ्गीकार गरेको छ। जनज्योतिका विद्यार्थीलाई सिलाइबुनाइ, तरकारी खेती, माछापालन, मौरीपालन आदिको सीप पनि दिइन्छ।
“शुरूमा यस्ता कार्यक्रम ल्याउँदा अभिभावकले केही आशङ्का गरे। अहिले छोराछोरीले विद्यालयमा सिकेको सीप घरमा प्रयोग गर्दा उनीहरू खुशी छन्,” सिग्देल भन्छन्। पहिले ६ रोपनीमा रहेको विद्यालय अहिले २० रोपनीमा फैलिएको छ। विद्यार्थीलाई सीप सिकाउनकै लागि थप जमीन भाडामा लिएर विभिन्न कार्यक्रम चलाइएको छ।
प्रधानाध्यापक सिग्देल २०४६ सालमा जनज्योति आउँदा जम्मा २०० विद्यार्थी थिए। अहिले एक हजार ५०० जना छन्। तीमध्ये ३०० जना प्राविधिक धारका हुन्। अहिले सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा ‘पढ्दै कमाउँदै’ कार्यक्रम समावेश गरेको छ। आफूले पढाएका विद्यार्थी रोजगारीका लागि विदेश जानु नपरोस् भनेर यो अभियान थालेको सिग्देल बताउँछन्।
“राज्यले सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ,” उनी भन्छन्, “आयात घटाउन र स्थानीय बजारमा स्वदेशी उत्पादन पुर्याउन देशभरका विद्यालयमा सीपमूलक शिक्षा दिइनुपर्छ।” यसो गर्दा शैक्षिक बेरोजगारीको समस्या पनि हल हुने उनको भनाइ छ।
दुई बिघामा माछापालन, झण्डै आठ बिघामा रिट्ठाको नर्सरी खेती, सात बिघामा धान, मकै गहुँ र पाँच कट्ठामा केरा–मेवा तथा तीन बिघामा तरकारी खेती गरेका छन्। त्यहाँ स्थानीयले रोजगारी समेत पाएका छन्।
जनज्योतिका विद्यार्थी कम्प्युटरमा पढ्छन्। सिग्देलले बिजुली नभएको ठाउँमा समेत इन्टरनेट जडान गरेका छन्। विद्यालयलाई आर्थिक स्रोत जुटाउन माछादेखि गाईपालनसम्म गरेका छन्। “जबसम्म विद्यालय आर्थिक रूपमा आत्मनिर्भर हुँदैन, अन्य क्रियाकलाप गर्न सकिँदैन,” उनी भन्छन्, “त्यसैले कुरिलो, कपूर, लेमनग्रास खेती पनि गर्दै आएका छौं।”
बराहताल गाउँपालिकाको बड्डीचौरमा जनज्योति नामकै उच्च मावि छ। दैलेखको महाबु गाउँपालिकाका २० वर्षीय शेरबहादुर पौडेलले यहींबाट भेटेरिनरीमा डिप्लोमा गरे। २२ बिघामा एकीकृत कृषि फार्म चलाएका उनी गत वर्ष ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको बताउँछन्।
चार वर्षअघि एसईई पास गरेपछि कृषि विज्ञान पढ्न सुर्खेत आएका शेरबहादुर चिनेका व्यक्ति मार्फत जनज्योति विद्यालय पुगे। पढ्दापढ्दै फार्म चलाउन थाले। त्यसै कारण सुर्खेतमा खान, बस्न, पढाइको शुल्क तिर्न र पकेट खर्चका लागि उनले एक पैसा घरबाट ल्याउनु परेन। उनले फार्ममा बाख्रा पालेका छन्। त्यस्तै, दुई बिघामा माछापालन, झण्डै आठ बिघामा रिट्ठाको नर्सरी खेती, सात बिघामा धान, मकै गहुँ र पाँच कट्ठामा केरा–मेवा तथा तीन बिघामा तरकारी खेती गरेका छन्। त्यहाँ स्थानीयले रोजगारी समेत पाएका छन्।
बराहतालकै दीपेश विक जनज्योतिमा कक्षा ६ मा पढ्छन्। कक्षामा प्रथम स्थानमा आएका उनले गत फागुनमा प्रधानाध्यापकलाई आग्रह गरी १८ वटा कुखुरा किन्न सहयोग मागे। विद्यालयले चल्ला उपलब्ध गरायो। दीपेशले विद्यालयमै पाल्न थाले। अहिले खर्च कटाएर १२ हजार रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन्। जनज्योतिमा कक्षा १२ सम्म औपचारिक शिक्षा पढाइन्छ। त्यस बाहेक सीटीईभीटी अन्तर्गतको कृषि बाली विज्ञानमा तीनवर्षे डिप्लोमा, तीनवर्षे पशु विज्ञान, १८ महीने कृषि जेटीए, १८ महीने भेटेरिनरी जेटिए लगायत विषय पढाइन्छन्।