यसरी उद्धार गरिंदै छ कोशी प्रभावित नौ सय परिवारको
कोशी नदीको बाढी छिरेपछि डुबानमा परेका उदयपुरको बेलका नगरपालिकाका दुई वडाका नौ सय परिवारको उद्धार भइरहेको छ।
बस्ती डुबेको बेलका–८ को सिसौली बस्ती र बेलका–३ को भाटेपुल बस्तीका गरी नौ सय परिवारलाई बिहानैदेखि उद्धार जारी राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
बुधबार बेलुकासम्म एक हजार जनाको उद्धार भइसकेको प्रहरीले बताएको छ। प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार, बेलका–९ को डुँडखोला सामुदायिक भवन, सामुदायिक विद्यालय र अन्य सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ।
वर्षाैं पहिले कोशी नदी बगेको क्षेत्रमा पुनः धार परिवर्तन भएको हो। नदीको धार पूर्वतर्फ सरेकाले बगरमा मानव बसोबास र खेती हुँदै आएको थियो।
नदीको पश्चिमी तटबन्ध कटान गरेर बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दाको उद्धारमा सुरक्षाका सबै अङ्ग परिचालन गरिएको प्रहरीले जनाएको छ। बेलका नगरपालिकाका मेयर अशोक कार्कीले वडा नं. १, २, ३, ८ र ९ का दुई हजार ३०० परिवार बाढीको जोखिममा रहेको बताए।
मेयर कार्कीका अनुसार, कोशीको तटबन्ध कटानको सम्भावना देखिएकाले तीन साताअघिदेखि नै स्थानीयलाई सुरक्षित ठाउँमा सर्न सूचित गरिएको थियो। “बहुमूल्य वस्तुहरू लिएर अन्यत्र जान भनेका थियौं, कतिपयले माने, कतिपय बस्तीमा बसेका थिए,” कार्कीले भने।
उद्धार कार्यमा संलग्न इलाका प्रहरी कार्यालय बेलका ठोक्सिलाका प्रहरी निरीक्षक सुभाष खनालले स्थानीय बासिन्दा जिद्दी गरेर बस्तीमै बसेको बताए। “बस्ती डुबे पनि घरहरू बगेका छैनन्, राति पनि मानिस बस्तीमै रहेकाले हामी डुबान क्षेत्रमै छौं,” खनालले भने। सेना, प्रहरी र सशस्त्र प्रहरीले डुङ्गाबाट डुबान क्षेत्रका बासिन्दालाई उद्धार गरिरहेको उनले बताए।
राति अँध्यारो भएपछि भने सुरक्षाकर्मीले डुङ्गा चलाउन छाडेका छन्। पहाडी क्षेत्रमा वर्षा कम भएकाले नदीमा पानीको बहाव पनि केही कम हुँदै गएको छ। कटान भएको क्षेत्र र डुबान भएको बस्तीमा पानीको सतह कम हुँदै गएको प्रहरी निरीक्षक खनालले जानकारी दिए।