उड्न लागेको विमान रोकेर चोरीको आरोपित युवक पक्राउ
उड्न लागेको विमान रोकेर नेपाल प्रहरीले चोरीको आरोप लागेका युवकलाई पक्राउ गरेको छ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको नेपाल वायुसेवा निगमको उडान नं. ४०१ को विमान रोकेर प्रहरीले कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरेको हो। उनी मुम्बई जान लागेका थिए।
सुनचाँदी व्यवसायमा संलग्न लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ। अनुसन्धान चलिरहेका वेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि उनलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताए।
विमानमा चालक दलका सदस्य सहित १४१ सवार रहेका थिए। उनीहरू सबैलाई बाहिर निकालेर प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।
शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनलाई विमानस्थलबाट पक्राउ गरिएको प्रवक्ता राईको भनाइ छ। “सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई आयो। विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो,” प्रवक्ता राईले भने, “हाल गौशाला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ।”
उनी श्रीमतीसँगै भारतको मुम्बई जान लागेका थिए। उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोको टोली विमानस्थल पुगेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, दिउँसो १ः१० बजेको उडानबाट भारत जान लागेका लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपाल एयरलाइन्सको उक्त जहाज दुई घण्टापछि अर्थात् दिउँसो ३ः१० मा मुम्बई उडेको छ।