एकै दिन थपिए ९१५ कोरोना सङ्क्रमित
आज देशभर ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, ६ हजार दुई जनाको स्वाब परीक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि भएको हो।
आज तीन हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जनामा र दुई हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा कोरोना देखिएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जना निको भएका छन्। यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि पाँच हजार ४३३ पुगेको छ।
केही सातायता सङ्क्रमण दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए। उनका अनुसार, गत साता १२ प्रतिशत रहेको सङ्क्रमण दर आज १५ प्रतिशत पुगेको छ।