कोशीको बाढी बस्तीमा, २० हजार जोखिममा
उदयपुरको बेलका नगरपालिकाबाट पश्चिमी तटबन्ध कटान गरी कोशी नदी बस्तीमा पसेको छ। बाढीबाट जोखिममा परेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ।
आज बिहान ४ बजेदेखि नदीको पश्चिमी तटबन्ध पार गरेर बाढी बस्तीमा पसेपछि सबै सुरक्षा निकाय उद्धारमा परिचालन गरिएको प्रहरीले जनाएको छ। बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार, वडा नंं १, २, ३, ८ र ९ का दुई हजार ३०० परिवार बाढीको जोखिममा छन्।
उनीहरूलाई बिहानैदेखि सुरक्षित स्थानमा सार्न थालिएको उनले बताए। अहिले पानीको बहाव बढ्न थालेकाले सुरक्षा निकायका डुङ्गाबाट ओसार्ने काम भइरहेको मेयर कार्कीले जानकारी दिए।
कटानका कारण उदयपुर र सुनसरीको सिमानामा पर्ने चिलिया टापु र सिसौली टापुका बासिन्दा पनि जोखिममा परेका छन्। चारैतिर पानीको बहाव भएकाले टापुभित्र पनि ठूलो सङ्ख्यामा मानिस रहेको मेयर कार्कीले बताए।
प्रदेश प्रहरी कार्यालयका अनुसार, उदयपुर र सुनसरीको बराहक्षेत्र नगरपालिकाको कोशीटप्पुका २० हजार मानिस बाढीको जोखिममा छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले पानीको बहाव उच्च रहेकाले रोकथामको सम्भावना नरहेको बताए। “बाढी रोक्न सकिंदैन, तर क्षति न्यूनीकरणको उपायमा लागेका छौं,” डीआईजी गिरीले भने।
नेपाली कांग्रेस उदयपुरका नेता तथा बेलाकाका स्थानीय बासिन्दा लवराज अधिकारीका अनुसार, नगरपालिकाले जोखिम भएको क्षेत्रमा पहिले नै स्थानीयलाई अन्यत्र जान सूचित गरेकाले मानवीय क्षतिबाट जोगिएको छ। कतिपयले सम्पत्ति र चौपायाका कारण घर नछाडेकाले बाढी पसेपछि उद्धार गरेर निकाल्ने काम भइरहेको अधिकारीले बताए।
लगातार वर्षा भइरहेकाले पानीको बहाव बढ्दै गएको र उद्धारमा समस्या भएको उनले बताए। प्रदेशका मन्त्री, सुरक्षा निकाय प्रमुख, उदयपुर, सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारी, उदयपुर र सुनसरीका स्थानीय तहका प्रमुखहरू कटान भएको क्षेत्रमा पुगेका छन्।