‘कक्षा ११ को भर्ना साउन मसान्त अगावै बन्द नगर्नू’
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई साउन मसान्तसम्म भर्ना लिन निर्देशन दिएको छ।
विद्यालयहरूले छिटो भर्ना बन्द गर्दा दूरदराजका विद्यार्थी भर्नाबाट वञ्चित भएकाले यस्तो निर्देशन दिनुपरेको बोर्डका सदस्य-सचिव दुर्गाप्रसाद अर्यालले हिमालखबरलाई जानकारी दिए। उनी भन्छन्, “टाढा टाढाबाट आउनुपर्ने विद्यार्थी पनि भर्नाका लागि अवसर प्रदान गर्न यस्तो निर्देशन दिएका हौं।”
यो वर्ष एसईईको नतीजा साउन ११ गते प्रकाशित भएको थियो। नतीजा प्रकाशित भएको मितिले कम्तीमा १५ दिनसम्म आवेदन व्यवस्था मिलाउन बोर्डले समन्वय र सहजीकरण गर्न सम्बन्धित गाउँपालिका र नगरपालिकालाई आग्रह समेत गरेको छ।