सप्तकोशीको तटबन्ध फुट्दा उच्च जोखिममा उदयपुरका एक हजार परिवार
सप्तकोशी नदीको तटबन्ध फुटेर उदयपुरको बेलका नगरपालिकामा पस्न थालेको छ।
बुधबार बिहान ४ बजेदेखि नदी डुम्रीबोटबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्तीतर्फ पस्न शुरू गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीन सातादेखि नदीको भँगालो रोक्ने प्रयास गर्दा पनि नसकिएको प्राधिकरणले बताएको छ।
बस्तीमा नदी पसेपछि करीब एक हजार घरपरिवार र ठूलो सङ्ख्यामा चौपाया प्रभावित हुन सक्ने अनुमान गरिएको छ। बेलका नगरपालिका, जिल्ला प्रशासन कार्यालय उदयपुर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयंसेवीहरूले प्रभावितलाई उद्धार गरिरहेका छन्।
बाढी पूर्वानुमान महाशाखाले चतरामा सप्तकोशी नदीकाे जलसतह मंगलबारदेखि नै सतर्कता तह नजिक रहेको र आज पनि नघट्ने भएकाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।