पोखराको कमलपोखरीमा बर्सेनि डुबान
प्रत्येक बिहान पानी लिएर ट्याङ्कर नआए त्यो दिन हातमुख धुनदेखि भाँडाकुडा पखाल्न नपाएर कमलपोखरीबासीको दैनिकी अस्तव्यस्त हुन्छ। तर, बिडम्बना! वर्षायाममा त्यहीं ठाउँ डुबानमा पर्छ।
आइतबार साँझदेखि परेको अविरल वर्षले यति वेला पोखरा महानगरपालिका–१३ कमलपोखरी डुबानमा छ। डुबान भएपछि स्थानीयवासी ज्यान जोगाउन आइतबार बेलुकाबाट नै घरदेखि टाढा गएर बस्न थालेका छन्। राति ११ बजेपछि घरमा पानी पस्न थालेपछि भरतबहादुर विश्वकर्माको परिवारले भाइको घरमा गएर रात काटेको थियो।
“खानपिन गरेर सुतिसकेका थियौं। पानी दर्किन थालेपछि बस्ती जोखिममा पर्छ भन्ने मनमा चिसो पसेको थियो,” उनी भन्छन्, “नभन्दै ११ बजेपछि घरभित्रै पानी पस्यो। ओछ्यानसम्म पानी पुगेपछि राति नै घर छोड्यौं।”
कमलपोखरीमा बर्सेनि डुबान हुँदै आएको छ। भरत भन्छन्, “पोहोर साल पनि बल्ल बाँचियो। यसपटक पनि भगवान्ले बचाए।” डुबानबाट हुन सक्ने दुर्घटनाबाट त बाँचे पनि अहिले खाने-बस्ने समस्या भएको उनको भनाइ छ।
भरतकै छिमेकी रत्नकुमार कार्की पनि यति वेला तनावमा छन्। पोहोर साल बनाएको घर जमीनमा दबिएको छ। उनी भन्छन्, “घर बनाएको धेरै भएको छैन। पानीले असर गर्ला भनेर माथि उठाएर बनाएँ। अहिले घर चर्कियो। केही भाग जमीनमा दबिएको छ।”
मनेन्द्र भगत माली पनि प्रत्येक वर्ष हुने डुबानले आजित भइसकेको बताउँछन्। २०६५ सालमा घर बनाएदेखि नै डुबानको समस्या भोग्दै आएको उनी सुनाउँछन्। “बिहान-बेलुका खानेपानी चाहिंदा ट्याङ्करबाट झार्नुपर्छ,” उनी भन्छन्, “के गर्नु, नचाहिएको यो पानीले अहिले घरको तल्लो तला डुबानमा परेको छ।”
प्लटिङले डुबान
भरतबहादुर २५ वर्षको उमेरमा २०३६ सालमा म्याग्दी दरबाङबाट श्रीमतीका साथ पोखरा झरेका हुन्। त्यो वेला कमलपोखरी बयरघारी थियो। उनी भन्छन्, “एक्लै हिंड्दा डर लाथ्यो।”
२०६० सालमा आइपुग्दा बयरघारी खेतमा परिणत भएको भरत सुनाउँछन्। २०६२/६३ सालपछि खेतमा प्लटिङ गर्न शुरू गरिएको उनको भनाइ छ। यसपछि बस्ती बढ्दै गएको हो। कमलपोखरीमा डुबान हुन थालेको तीन-चार वर्ष भएको भरतबहादुर बताउँछन्।
डुबानको दीर्घकालीन समाधानका लागि काठमाडौंदेखि विज्ञहरू ल्याएर अनुसन्धान गरिरहेको वडा नं १३ का वडाध्यक्ष किरण बराल बताउँछन्।
“बर्सेनि डुबान हुँदै आएपछि हामी विज्ञहरूलाई नै बोलाएर यसको दीर्घकालीन समाधान खोज्न लागिपरेका छौं,” वडाध्यक्ष बराल भन्छन्, “डुबानमा परेर खान-बस्न गाह्रो परेकालाई वडाले संरक्षण गर्छ।”