अपरिहार्य उद्यमशील शिक्षा
परीक्षामुखी, कृत्रिम र बनावटी शिक्षाका कारण आज विद्यार्थी दक्ष नागरिक होइन, प्रश्नविहीन ‘यन्त्र’ बनिरहेका छन्।
एक विद्यार्थीले यस्तो एप बनाए जस मार्फत मन्दिर लगायत ऐतिहासिक र सांस्कृतिक सम्पदाको जानकारी रोजेको भाषामा मोबाइलमा सुन्न सकिन्छ। त्यसका लागि सम्पदा परिसरमा राखिएको क्यूआर (क्विक रेस्पोन्स) कोड ‘स्क्यान’ गर्नुपर्छ। एप बनाउनुपूर्व विद्यार्थीले मन्दिर निर्माणको इतिहास, सञ्चालनको रीतिथिति, सेवाग्राहीको विचार र स्वभाव सबै जानकारीमा लिए। अर्थात्, नयाँ सीप विकास गर्दा उनले इतिहाससँगै समाज पनि बुझे।
शिक्षाले गर्नुपर्ने यही हो, समाजोपयोगी सीपको विकास। तर, हाम्रो शिक्षा किताबी ज्ञानमा सीमित भयो, सिकाइमा जान सकेन। कक्षाकोठा अनि परीक्षामा सीमित शिक्षाले विद्यार्थीले निश्चित खाकाको उत्तर राम्ररी लेख्न जान्दछ कि जान्दैन भन्ने मात्र हेर्छ, सिर्जनात्मकता हेर्दैन। शिक्षकले पनि किताबी ज्ञान मात्र प्रचार गरिरहेको छ। जसले सुनेर हुबहु उतार्न सक्छ, उही राम्रो विद्यार्थीमा दरिन्छ।
जबसम्म यो शैली परिवर्तन हुँदैन, विद्यार्थीबाट समाजोपयोगी सीप र उद्यमशीलता आउँदैन। परिणामतः समाज अघि बढ्न सक्दैन। अर्को समस्या, हामीकहाँ सजिलै उपलब्ध स्रोतसाधनको उपयोग नै भएन। वरपरका वनस्पतिको सामान्य जानकारीसम्म विद्यार्थीलाई हुँदैन। तितेपाती र नर्कटको उपयोग हामीलाई थाहै छैन। पुस्तौंदेखि चलिआएका कति परम्परागत प्रविधि तथा सीपबारे पनि अनभिज्ञ छौं।
समाजमै विज्ञान र प्रविधि छन्, तिनलाई हामीले बहिष्कार गर्यौं। वरिपरि रहेका सिपालु सूचीकार, चर्मकार, सिकर्मी, डकर्मीहरूलाई बेवास्ता गर्यौं। गाउँको घट्टमा मानवशास्त्र–समाजशास्त्र छ, तर त्यसलाई ज्ञानको आधार बनाउन सकेनौं। देश जलस्रोतमा धनी छ भनेर पढाउँछौं, जलस्रोतलाई कसरी ऊर्जामा बदलिन्छ भन्ने सिकाउने घट्टबारे चाहिं केही पढाउँदैनौं।
कक्षाकोठा अनि परीक्षामा सीमित शिक्षाले विद्यार्थीले निश्चित खाकाको उत्तर राम्ररी लेख्न जान्दछ कि जान्दैन भन्ने मात्र हेर्छ, सिर्जनात्मकता हेर्दैन।
यहाँनेर हामीले स्विकार्नै पर्छ, हामीले पढ्दै आएको शिक्षाले समाज बुझेको रहेनछ। किताबी ज्ञान मात्रको प्रसारणले सामाजिक समस्याहरू सामना गर्न सक्दो रहेनछ। देश ठूला राजनीतिक तथा आर्थिक सङ्कटबाट गुज्रिंदा शिक्षा क्षेत्रले कुनै हस्तक्षेप गर्न सकेन, धारणासम्म सार्वजनिक गरेन।
हाम्रो सिकाइ कस्तो ‘कस्मेटिक’ छ भने हामी विद्यार्थीलाई एक दिन धान रोप्न गाडी चढाएर खेतमा लैजान्छौं। तस्वीर खिच्छौं, सकियो। त्यहाँ तिनले असारे भाकाको इतिहास र सांस्कृतिक महत्त्व बुझ्दैनन्। रोपाइँको खाजामा किन आलु, चिउरा खाइन्छ भन्ने प्रश्नको उत्तर खोज्दैनन्। कृषकको जीविकामा धानको योगदान के–कति छ र कृषि प्रणाली कसरी उन्नत बनाउन सकिएला भन्ने थाहा पाउँदैनन्। यस्तो शिक्षाले परिणाम पनि दिँदैन।
हामीले आधुनिक शिक्षा अँगालेपछि भोगेको समस्या नै यही हो। हाम्रो शिक्षा पद्धतिले सोच्ने र समाधान पहिल्याउने विद्यार्थी उत्पादन गर्नै सकेन। यसैको प्रतिविम्ब राजनीतिक, सामाजिक क्षेत्रमा देखिएको छ। तसर्थ, हामीले अब विद्यार्थीलाई सहभागितामूलक क्रियाकलाप मार्फत शिक्षा प्रसार गर्नुपरेको छ। उसैलाई निगरानी गर्न लगाउने, उसैलाई क्रियाकलाप गर्न लगाएपछि ऊ आफैंले धेरै कुरा जान्दछ। औपचारिक पढाइ पूरा भएपछि रोजगारीमा लाग्ने प्रवृत्ति हाम्रो शिक्षा पद्धतिको कमजोरी हो। कलेज अध्ययनपछि विद्यार्थीले कुनै सीप विकास गर्ने, समाधानको उपाय पहिल्याउने वा त्यता अग्रसर हुने खालको वातावरण शिक्षाले दिनुपर्छ।
समाजमै विज्ञान र प्रविधि छन्, तिनलाई हामीले बहिष्कार गर्यौं। वरिपरि रहेका सिपालु सूचीकार, चर्मकार, सिकर्मी, डकर्मीहरूलाई बेवास्ता गर्यौं।
विद्यार्थीले धेरैभन्दा धेरै प्रश्न गर्न सक्नुपर्छ। तर, हाम्रो प्रवृत्ति यस्तो छ कि प्रश्न गर्ने विद्यार्थी हामी रुचाउन्नौं। समस्या मान्दछौं। सबै विद्यार्थीको सबै प्रश्नको उत्तर शिक्षकले दिनुपर्छ भन्ने पनि छैन। तिमी आफैं उत्तर खोज त भनेर उसमा जिज्ञासु शैली, प्रवृत्ति विकास गराउन सकिन्छ। हामी पहिले नै विद्यार्थीलाई यो ठीक, यो बेठीक भन्ने सिद्धान्त लादिदिन्छौं। तर, किन ठीक, किन बेठीक सोच्न उत्प्रेरित गर्दैनौं।
विद्यार्थी हुर्कंदै जाँदा उसलाई असफलताको डर बढ्दै जान्छ, नयाँ कुरा गर्न हिचकिचाउँछ भन्ने विद्वान्हरूको मत छ। यसो हुँदा उसमा नयाँ सोच र उपाय हुर्कन पाउँदैन। तर, एउटा सफलताको पृष्ठभूमिमा थुप्रै असफलता लुकेको हुन्छ। विद्यार्थी सफलता वा असफलताभन्दा पनि प्रयोगपरक प्रश्न र कार्यमा जति संलग्न हुन सक्छन्, त्यति नै खारिंदै जाने हुन्। यसबाट उनीहरूले उद्यमशीलता हासिल गर्छन् जसको लाभ अन्ततः समाजलाई हुने हो। तसर्थ, विद्यार्थीलाई प्रश्न गर्न र उद्यमशीलता सिकाउने शिक्षाको पैरवी गरिनुपर्छ। आफूसँग भएका स्रोतसाधन, ज्ञान, सीप र प्रविधि बुझेर त्यसमा आधुनिक प्रविधिको मिश्रण गरी आर्थिक उन्नति र रोजगारी सिर्जना गर्न हाम्रो शिक्षाले उद्यमशील मानसिकताको विकास गर्नुपर्छ।
(अर्याल काठमाडौंस्थित किङ्स कलेजका अध्यक्ष हुन्। हिमालको २०७९ साउन अङ्कबाट)