बाङ्लादेशसँग भिड्दै नेपाल, कति छ फाइनल पुग्ने सम्भावना?
साफ यू-२० च्याम्पियनशिप अन्तर्गत नेपाल आज बाङ्लादेशसँग प्रतिस्पर्धा गर्दै छ।
नेपाल बलियो टोली बाङ्लादेशसँग लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र बाङ्लादेशको खेल आज अपराह्न ४:१५ बजे भारतको भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा हुनेछ।
नेपालले अहिलेसम्म तीन खेलमध्ये दुई जितेको छ भने एकमा हार बेहोरेको छ। पहिलो खेलमा माल्दिभ्सलाई ४-० तथा दोस्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको नेपाल तेस्रो खेलमा भने भारतसँग ८-० गोल अन्तरले पराजित भएको छ। नेपाल ६ अङ्क सहित तेस्रो स्थानमा छ।
त्यस्तै, बाङ्लादेश तीनै खेलमा जित निकाल्दै ९ अङ्क सहित शीर्षस्थानमा छ भने भारत तीन खेलमा दुई जित र एक हजार सहित ६ अङ्क बटुलेर दोस्रो स्थानमा छ।
प्रतियोगितामा सहभागी पाँच टोलीमध्ये माल्दिभ्स र श्रीलंका एक-एक अङ्क सहित चौथो र पाँचौं स्थानमा छन्। शीर्षस्थानमा रहेका दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
यो प्रतियोगितामा अङ्क, हेड टु हेड अङ्क, गोल अन्तर, हेड टु हेडमा भएको गोल र अनुशासनका आधारमा अङ्कतालिकामा स्थान तल-माथि हुने नियम छ।
नेपालले फाइनल प्रवेश गर्न बाङ्लादेशलाई पराजित गर्नुपर्नेछ। त्यसो हुँदा नेपाल र बाङ्लादेशको बराबर ९ अङ्क हुनेछ र नेपाल हेड टु हेडका आधारमा फाइनलमा प्रवेश गर्नेछ।
बाङ्लादेशसँग हारेमा नेपालको फाइनल यात्रा समाप्त हुनेछ।
बाङ्लादेशसँग बराबरी खेले पनि नेपालको फाइनल पुग्ने सम्भावना जीवितै रहनेछ, तर त्यस्तो अवस्था भारतसँगको खेलमा निर्भर हुनेछ। अर्को खेलमा माल्दिभ्सले भारतलाई पराजित गर्नुपर्नेछ।
नेपाल र बाङ्लादेशको खेल अपराह्न ४:१५ बजे हुनेछ भने त्यसपछि साँझ ७:१५ बजे भारत र माल्दिभ्सको खेल हुनेछ।
यस्तो छ अङ्कतालिका: