'गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ'
अर्थतन्त्र नबुझेका र नैतिक रूपमा गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ। यो राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा हो।
नैतिकता र इमानदारीमा राजनीतीकरण भएपछि के भन्न सकियो र? अर्थमन्त्री जनार्दन शर्मा प्रकरणले राजनीतिमा नैतिकता र इमानदारी हुँदैन भन्ने थप पुष्टि गरेको छ। अर्थमन्त्रीलाई करको दर हेरफेर गरेको आरोप छ, छानबिन समिति अर्थ मन्त्रालयभित्र मानिस पसे या पसेनन् भन्नेतिर केन्द्रित भयो। यसो गर्नुको कारण करको दरमा भएको परिवर्तनका विषयमा ध्यान भङ्ग गर्नु थियो। करको दर हेरफेर भएको छ भन्नेतिर खोजी नगरी व्यक्तितिर खोजी गर्नुले पनि छानबिन समितिलाई प्रश्न गर्ने ठाउँ छ।
सबै कुरा राजनीतिक आँखाले हेरेर टुङ्ग्याउन खोजेपछि इमानदारी, नैतिकता र सदाचार सबै नष्ट हुन्छन्। भ्रष्टाचारलाई चोख्याउन जो जो लागे यो टिप्पणी गर्न लायकको विषय नै रहेन। भ्रष्टाचारमा राजनीति हुनु भनेको डरलाग्दो विषय हो।
प्रविधिको युगमा सीसीटीभीको फूटेजमा भएको दृश्य हेर्न चाहने हो भने नसकिने होइन। राज्य नै भ्रष्टाचारीलाई चोख्याउन लागेपछि कसको के लाग्छ र? यो अत्यन्तै लाजमर्दो भो, सबै कुरा छर्लङ्ग छ, खै के टिप्पणी गर्नु?
यो प्रकरणमा मिडियाले आफ्नो पहुँचमा भएको कुरा ल्यायो। मिडियाले त्यति कुरा बाहिर ल्याएपछि छानबिन समितिले अनेक कोणबाट अनुसन्धान गर्नुपर्थ्यो। किनकि, छानबिन समितिले चाहेको भए धेरै कुरा बाहिर आउन सक्थ्यो, त्यो उसको पहुँचमा भएको कुरा थियो।
अर्थमन्त्री भनेको मुलुकको बहुआयामिक क्षेत्रमा प्रभाव पार्ने व्यक्ति हो। अर्थमन्त्री हुन विशेष योग्यता तथा क्षमता चाहिन्छ। तर, अहिले जो पनि अर्थमन्त्री भएका छन्। अर्थतन्त्र नबुझ्ने र नैतिक रूपमा गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ। यो राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा हो।
(ट्रान्सपरेन्सी इन्टरन्याशनल नेपालका पूर्व अध्यक्ष थापासँगको कुराकानीमा आधारित)