विदेशी गाडीबाट अवैध रूपमा कर असुल्दै स्थानीय सरकार
मोरङको कटहरी गाउँपालिकाले हुलाकी राजमार्गमा विदेशी सवारी साधनबाट अवैध रूपमा कर असुल गरिरहेको छ।
सम्झौता अनुसार, ठेकेदारले रकम नदिएपछि गाउँपालिकाले कर्मचारी राखेरै कर उठाउन थालेको छ। गाउँपालिकाले सरसफाइ कर शीर्षकमा बोलपत्र आह्वान गरेर ठेकेदार मार्फत कर सङ्कलन गर्दै आएको थियो। गत असार १५ गतेबाट भने आफैंले कर्मचारी राखेर विदेशी सवारी साधनबाट कर लिन थालेको हो।
कुन शीर्षकमा कर लिएको भने उल्लेख गर्ने गरेको छैन। गाउँपालिकाको छाप भएको रसिदमा रकम मात्रै लेखेर दिने गरिएको छ। सङ्केत नम्बर र विवरण लेखिएको ठाउँमा सवारी साधनको नम्बर लेख्ने गरिएको छ।
औद्योगिक क्षेत्र भएकाले कटहरीमा भारतीय मालवाहक ट्रक आउने गरेका छन्। एक ट्रकबाट तीन सय रुपैयाँ लिने गरिएको छ। त्यस्तै, साना सवारी साधनबाट एक सय र दुई सय रुपैयाँ लिने गरिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल गाउँपालिकाले बनाएको सडक बाहेकमा सवारी साधनबाट कर लिन नमिल्ने बताउँछन्। गाउँपालिकाले लिने करबाट ४० प्रतिशत प्रदेश सरकारलाई पनि जाने बताउँदै उनले के आधारमा सडकमा कर असुल भइरहेको छ भनेर गाउँपालिकासँग बुझ्ने बताए। गाउँपालिकाले सवारी साधनबाट सरसफाइ शीर्षकमा रकम लिन नपाउने उनको भनाइ छ।
कटहरीका सूचना अधिकारी जानकीप्रसाद अधिकारीले ठेकेदारसँगको सम्झौता भङ्ग गरेर आफैं कर असुल गर्नुपर्ने भएकाले रसिद छाप्न नभ्याएको प्रतिक्रिया दिए। कार्यालयमा उपलब्ध नगद प्राप्ति रसिद मार्फत कर लिइएको उनले बताए। विदेशी सवारीलाई सरसफाइ शुल्क शीर्षकमा रकम लिनुपर्नेमा बिल छाप्न नभ्याएको उनको भनाइ छ।
गाउँपालिकाले सवारी साधनबाट सरसफाइ शीर्षकमा मात्रै कर लिन पाउने भएकाले ठेक्का प्रक्रियाबाट कर लिने गरिएको अध्यक्ष देवराज चौधरीको भनाइ छ। शीर्षक उल्लेख नगरी कर उठाएकोबारे आफूलाई जानकारी नभएको उनले बताए।