‘अब धमाकेदार सिनेमा बनाउने विचार छ’
‘मेरो बुझाइमा सफल फिल्म त्यो हो, जुन फिल्म लामो समयसम्म हेर्ने मान्छेको मनमा बस्छ।’
कलाकार खगेन्द्र लामिछाने अभिनयसँगै लेखनबाट पनि परिचित छन्। उनी फिल्म पानीफोटो मार्फत निर्देशनमा आएका छन्। उनले लेखन तथा निर्देशन गरेको फिल्म पानीफोटोको समीक्षकले प्रशंसा गरेका छन्। उनै लेखक एवं निर्देशक लामिछानेसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
यो फिल्ममा बेपत्ता पारिएको मानिसको कथा भन्नुभएको छ। नाम चाहिं पानीफोटो कसरी राख्नुभयो?
यो सिनेमाको नाम पानीफोटो किन राखियो भन्ने कुरा सिनेमामा पनि सूक्ष्म ढङ्गले राखिएको छ। त्यो बुझ्न त सिनेमा हेर्नै पर्छ ।
पहिले नाटकमा देखाएकै कथालाई फिल्म बनाउनुभयो। किन?
नाटकको सीमितता छ। एकैचोटि धेरै दर्शकका बीचमा लैजान सकिंदैन। मलाई धेरै मान्छेलाई यो कथा देखाउनु मन थियो। त्यसैले सिनेमा बनाएँ।
तपाईंका फिल्ममध्ये टलकजंग भर्सेस टुल्के, धनपति र अहिले आएर पानीफोटोमा द्वन्द्वको विषयमा कथा बुनिएको छ। फेरि यही विषय किन उठाउनुभएको हो?
यसमा खास निजी कारण छैन। हाम्रो देशमा दशवर्षे सशस्त्र युद्ध भयो। यसले प्रत्यक्ष-परोक्ष रूपमा सबै नेपालीलाई कुनै न कुनै हिसाबले असर गरेको छ। त्यसैले यी हाम्रा कथा हुन्। मलाई लाग्छ, हाम्रा कथा हामीले नै भन्नुपर्छ। त्यसैले मैले यो विषयलाई पानीफोटोमा उठान गरेको हुँ।
के एउटै समयको कथा भन्न पनि फरक फरक फिल्म चाहिने हो?
त्यो समयमा मान्छेले भोगेका पीडा र अनुभवहरू फरक फरक छन्। त्यो युद्धका आयामहरू धेरै छन्, अनेक कथाहरू निर्माण गरेका छन्।
त्यसैले पनि आयाम फरक भएपछि कथा फरक फरक हुन्छन्। तिनलाई समेट्न दश वटा फिल्मले पनि सक्दैनन्। न त दश वटा पुस्तकले समेट्न सक्छन्। ती कथा भन्न सयौं पुस्तक र सयौं सिनेमा चाहिन सक्छन्।
सशस्त्र द्वन्द्वबारे विभिन्न पुस्तक लेखिएका छन्, फिल्म, डकुमेन्ट्री बनेका छन्। अरूभन्दा पानीफोटो कसरी फरक छ?
हरेक सर्जकका सिर्जनामा उसको दृष्टिकोण हुन्छ। विश्वयुद्धमाथि पनि सयौं सिनेमा बनेका छन्, डकुमेन्ट्री बनेका छन्, पुस्तक लेखिएका छन्। यस मानेमा पानीफोटो अरू चिजहरूभन्दा फरक छ कि छैन भनेर बुझ्न वा मेरो दृष्टिकोण बुझ्नको लागि सिनेमा हेरेर महसूस गर्नुपर्ने हुन्छ।
सशस्त्र द्वन्द्वको विषयमा धेरै अध्ययन पनि गर्नुभएको छ। अझै द्वन्द्वको कथा भन्न बाँकी छ र?
नेपालमा भएको दशवर्षे सशस्त्र द्वन्द्वबारे निष्पक्ष ढङ्गले एकदमै कम कथा लेखिएका छन्, सिनेमा बनाइएका छन्। धेरै कुरा भन्न र देखाउन बाँकी छन्।
यो फिल्मबाट निर्देशनमा पनि आउनुभयो। पहिलो फिल्मबाट कति सन्तुष्ट हुनुहुन्छ?
म पानीफोटो हेरेर पूर्ण सन्तुष्ट छु। अझै केही गर्न सकिने ठाउँ त थिए, तर हाम्रो लिमिटेशनले गर्दा त्यो अलि असम्भव नै थियो। जुन साधनस्रोत र विचारबाट मैले यो चलचित्र बनाएँ, पूर्ण सन्तुष्ट छु। यो फिल्मलाई फेरि बनाउन आवश्यक छैन।
पछिल्लो समय राम्रा राम्रा सिनेमा बनिरहेका छन्। तर, हलमा दर्शक कमै देखिन्छन्। किन यस्तो हुन्छ जस्तो लाग्छ?
अरू कुरामा पनि हामीले मौलिकता बिर्संदै गएका छौं। त्यसको मार सिनेमामा पनि परेको हो। यो हाम्रो राष्ट्रिय दुर्भाग्य हो। तर, मलाई विश्वास छ, यिनै सिनेमाहरू भविष्यमा फिल्म कलेजमा पढाइन्छन् र युनिभर्सिटीका विद्यार्थीले थेसिस लेख्छन्। र, त्यति वेला यस्ता सिनेमाको महत्त्व देखिनेछ।
फिल्मको व्यापारलाई पनि सफलताको मानक मानिन्छ। तपाईंलाई कस्तो फिल्म सफल हो जस्तो लाग्छ?
मेरो बुझाइमा सफल फिल्म त्यो हो, जुन फिल्म लामो समयसम्म हेर्ने मान्छेको मनमा बस्छ।
यो फिल्म निर्माणको यात्रा कस्तो रह्यो?
फिल्म निर्माणको प्रक्रिया नै निकै कठिन छ, त्यसैले रोचक पनि छ। मलाई फिल्ममा काम गर्दा एकदमै रमाइलो लाग्छ, र नै काम गर्छु। पानीफोटोमा पनि त्यस्ता प्रसङ्ग धेरै छन्। जुन यहाँ व्याख्या गर्न सम्भव छैन।
यो फिल्मको छायाङ्कन गर्न कसरी स्याङ्जा रोज्नु भयो?
स्याङ्जाको जुन ठाउँमा पानीफोटोको सुटिङ भयो, त्यो मेरो गाउँ होइन। यो सिनेमाले मागेको लोकेशन ठ्याक्कै भेटेकाले त्यहाँ छायाङ्कन गरेका हौं। त्यो ठाउँले कथा भन्न सजिलो पनि बनायो। आफूले बुझेको समाजको कथा भन्न अलि सजिलो चाहिं हुन्छ।
लेखन र अभिनय त गरिराख्नुभएकै थियो, निर्देशन पनि गर्नुभयो। अबको योजना के छ?
अब केही समय व्यावसायिक सिनेमा बनाउने विचार गरेको छु, धमाकेदार!