चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)ले विश्वविद्यालयको विकास र सुदृढीकरणका लागि दशवर्षे रणनीतिक योजना निर्माण गर्न लागेको छ।
विश्वविद्यालयले रणनीतिक योजना बनाउन दुईदिने कार्यशाला आयोजना गरेको छ। सोमबार कार्यशालाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पोडेलले विश्वविद्यालय तथा शैक्षिक संस्थामा तालाबन्दी र हडताललाई बन्द गरिनुपर्ने बताए।
शिक्षालाई सीपसँग जोड्ने र सीपलाई रोजगार तथा बजारसँग जोड्ने शिक्षा दिनुपर्ने उनको भनाइ थियो। “विश्वविद्यालयले अहिलेको आवश्यकता अनुसार पाठ्यक्रम परिवर्तन गरी रोजगारमा जोडिने बनाउनुपर्छ,” मन्त्री पौडेलले भने। एएफयूले विद्यार्थीसँगै किसानमा पनि आधुनिक कृषि प्रणालीबारे प्रसार गर्नु आवश्यक रहेको उनले बताए।
एएफयूका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयमा शैक्षिक पात्रो लागू गर्न आवश्यक दरबन्दी र पूर्वाधारको अभाव रहेको बताए। “अहिले हामीलाई शिक्षक तथा कर्मचारी गरी करीब १८ सय जनशक्तिको आवश्यकता छ,” उपकुलपति रेग्मीले भने, “हामीसँग अहिले ५८९ मात्र दक्ष जनशक्ति छ।’
विद्यार्थीको सङ्ख्या बढ्दै आएको भए पनि केन्द्रीय कार्यालयको भवन बाहेक ४० वर्षअघिकै संरचनामा विश्वविद्यालय सञ्चालन गर्न बाध्यता रहेको उनको भनाइ थियो। त्यस्तै, एएफयूले भोगचलन गर्दै आएको जग्गा अझै पनि त्रिभुवन विश्वविद्यालयको नाममा हुनु र त्रिविसँगको विवाद कायम रहनुले पनि विश्वविद्यालयको विकासमा बाधा उत्पन्न भएको उनले बताए।
एएफयूले सन् २०१३ मा दशवर्षे रणनीतिक योजना तथा सन् २०१५ मा पाँचवर्षे कार्ययोजना तयार गरेको रजिस्ट्रार प्रा.डा. शारदा थपलियाले बताइन्। विश्वविद्यालयले कस्तो गति लिन्छ या कसरी अगाडि बढ्छ भन्ने विषय एएफयूले तय गर्ने योजना र त्यसको सफल कार्यान्वयनमा भर पर्ने भएकाले विषय विज्ञसँग छलफल गरेर सन् २०२३ देखि २०३२ सम्मको रणनीति योजना निर्माण गर्न लागिएको रजिस्ट्रार थपलियाले बताइन्।