युनाइटेड एकेडेमीको डीआई आतङ्क
युनाइटेड एकेडेमीका पूर्व विद्यार्थीले पनि आफूले भिडिओमै जसरी नै पिटाइ खाएको र त्यसकै कारण डिप्रेशनमा परेको खुलाएका छन्।
केही सातायता सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ- विद्यार्थीलाई चार हातखुट्टा टेकाएर सास्ती खेपाइएको छ। त्यसो गर्न नमान्नेलाई शिक्षक ‘तिमीहरूले भने जस्तो हुन्छ’ भन्दै पिट्ने धम्की दिइरहेका छन्। केही बेरमा उनी विद्यार्थीको पुट्ठामा पालैपालो फलामे स्केलले जोडले पिट्न थाल्छन्। आफ्नो भागको पिटाइ सकिएपछि विद्यार्थी उसै गरी पालैपालो उठेर हिंड्छन्।
ललितपुरस्थित युनाइटेड एकेडेमीको यो भिडिओ सामाजिक सञ्जालमा आएसँगै तीव्र आलोचना भयो। शिक्षक, शिक्षाविद्, अभिभावक तथा सरोकारवाला सबैले विद्यालयको यस्तो हर्कतप्रति विरोध जनाए।
कमेन्ट बक्समा विद्यालयमा आफूले पाएका सजायबारे लेख्नेहरूको ओइरो लाग्यो। तिनैमध्येका एक जनाले पिटाइकै कारण आफू मानसिक रूपमा कमजोर बनेको भन्दै माध्यमिक शिक्षा पार गरेको सात वर्षपछि पनि विद्यालय र शिक्षकप्रति उस्तै घृणा जनाएका छन्।
आफूलाई युनाइटेड एकेडेमीकै पूर्व विद्यार्थी भन्ने अर्का व्यक्तिले आफूले पनि भिडिओमै जसरी पिटाइ खाएको र त्यसकै कारण डिप्रेशनमा परेको खुलाएका छन्। उनका अनुसार, अभिभावकलाई उजुरी दिन लगाउँदा विद्यालय प्रशासनले ठूला विद्यालयमा यस्तै हुने भन्दै मन नपरे आफ्ना बालबालिका अन्तै लैजानू भनी हेपाहा शैली देखाउँथे।
अर्का एक छात्रका अनुसार, एक पटक शिक्षकले उनका साथीलाई लाइनमा राखेर थप्पड हानेका थिए। प्रतिशोधमा ती विद्यार्थीले शिक्षकलाई नै अस्पताल भर्ना गर्नुपर्ने गरी कुटपिट गरेका थिए।
विद्यार्थीलाई अनुशासनमा राख्न भन्दै कैयौं विद्यालयले ‘डिसिप्लिन इन्चार्ज (डीआई)’ राखेका हुन्छन्। तर, यस्ता इन्चार्जप्रति विद्यार्थीको छाप प्रायः नकारात्मक नै हुन्छ। कारण- विद्यार्थीलाई तह लगाउने नाममा अनावश्यक गाली गर्नु र शारीरिक सजाय दिनुलाई नै उनीहरूले आफ्नो ‘जागिर’ बनाएका हुन्छन्।
यो भाइरल घटनाभन्दा अगाडि कैयौं विद्यार्थी विद्यालयको शारीरिक हिंसाको शिकार भइसकेका छन्। कति विद्यार्थीका हात भाँचिएका छन्, कतिका हात रेटिएका, आँखा फुटेका, शरीर नीलडाम हुनेगरी कुटाइ खेपेका उदाहरण प्रशस्तै पाइन्छ।
यस्तै कारणले सानो उमेरका विद्यार्थी शिक्षक देख्नेबित्तिकै डराउने र सकेसम्म उनीहरूका सामु पर्नै नचाहने गरेको मनोविशेषज्ञ गोपाल ढकाल बताउँछन्। “अनुशासन जरुरी छ, तर त्यसकै नाममा विद्यार्थीलाई दुर्व्यवहार गरिनु हुन्न,” उनी भन्छन्, “विद्यार्थीलाई अनुशासनमा राख्ने अरू सकारात्मक विधि पनि हुन्छन्।” सजाय दिने तथा गाली गर्ने विधि क्षणिक रूपमा प्रभावकारी जस्तो देखिए पनि त्यसले मनोविज्ञानमा दीर्घकालीन असर पार्ने ढकाल बताउँछन्।
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार, ‘डीआई’ ले विद्यार्थीलाई कुटेर तह लगाउने नभई सकारात्मक माध्यमले उनीहरूको मानसिक ऊर्जा प्रयोगमा ल्याउन सघाइदिनुपर्छ। “विद्यार्थीलाई कुट्नु हिंसा हो,” उनी भन्छन्, “हिंसा गर्नु भनेको विद्यालय र शिक्षक कानूनी रूपमा सजायको भागीदार हुनु हो।”
उनका अनुसार, विद्यार्थीलाई विभिन्न शैक्षिक, मनोवैज्ञानिक पद्धति अपनाएर, संवाद, ध्यान, योग, तर्क-वितर्क, खेलमा सामेल गराएर पनि अनुशासनमा राख्न सकिन्छ। “बालबालिका चुलबुले स्वभावका हुने भएकाले बदमासी गर्न सक्छन्। कतिलाई साहसिक काम गर्न मन पर्ला, कतिलाई साजसज्जा, कतिलाई बोटविरुवा,” कोइराला भन्छन्, “उनीहरूको ऊर्जालाई त्यस्तै काममा सकारात्मक तरीकाले लगाउन सकिन्छ। यसबाट विद्यार्थीको रुचि तथा साहस पनि बुझ्न सकिन्छ।”
मनोविद् ढकाल विद्यार्थीलाई पिट्दा उनीहरूमा विद्यालय र पढाइप्रति नै वितृष्णा जाग्ने, समाजमा घुलमिल नहुने, एक्लै बस्ने, आफ्नो कुरा खुलेर भन्न डराउने, साना समस्या देखेर पनि डराउने, मानसिक आघात पुग्ने, ट्रमा तथा डिप्रेशन, एन्जाइटी जस्ता समस्या निम्तिन सक्नेतर्फ सजग गराउँछन्। “अधिकांश शिक्षकमा पिटाइले मानसिक आघात पर्ने ज्ञान नहुँदा विद्यार्थी दुर्व्यवहारको शिकार भइरहेका छन्,” उनी भन्छन्, “कुटाइबाट विद्यार्थी तह लगाउनुलाई सामान्य ठानिंदा शिक्षकले आफ्ना कुण्ठा, घरायसी समस्या र निराशा पनि विद्यार्थीमाथि पोखिरहेका हुन्छन्।”
युनाइटेड एकेडेमीले भने अहिले आफूहरूकहाँ विद्यार्थीलाई पिट्ने नगरिएको भन्दै उक्त भिडिओ १० वर्षअघिको भएको दाबी गरेको छ। अहिले उति वेलाको व्यवस्थापन, प्रिन्सिपल र शिक्षक सबै परिवर्तन भइसकेको विद्यालय प्रशासनले जनायो। “धेरै वर्ष पुरानो भिडिओ कसले सार्वजनिक गर्यो, हामीलाई पनि जानकारी छैन। यस विषयमा अनुसन्धान भइरहेछ,” विद्यालय प्रशासनको भनाइ छ।
एक दशक अघिको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेर विद्यालयलाई बदनाम गर्न खोजिएको युनाइटेड एकेडेमीका प्रिन्सिपल लाल रापचा बताउँछन्। उनले यस्तो काम गर्ने व्यक्ति विरुद्ध साइबर कानुन अन्र्तगत मुद्धा दर्ता गरिसकेको बताउँदै हाल विद्यालयमा यस्ता कुनै पनि गतिविधिहरु नभएको बताए।
“म आफै पनि बालबालिकाहरूको मनोविज्ञान सम्बन्धी अध्यन गरेको र बुझ्ने मानिस हुँ। हालसालै यस विद्यालयमा प्रिन्सिपको रुपमा कार्यरत भएपनि विद्यालयबारे सबै जानकारी लिएको छु विद्यालयमा हाल पुराना गतिविधिहरु कुनै पनि दोहोरिएका छैनन्,” उनले भने ।
विद्यालयमा कुनै खालका मौखिक गाली, शारीरिक तथा मानसिक सजायको अभ्यास हुन नहुने राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन, नेपालका पूर्व अध्यक्ष ऋतुराज सापकोटा बताउँछन्। उनी भन्छन्, “विद्यार्थीलाई सजाय दिनु भनेको शिक्षक आफैंलाई सजाय दिनु हो।”
त्यस्तै, कुनै पनि माध्यमिक विद्यालयमा डीआईको दरबन्दी नरहेको उनी बताउँछन्। “पहिले उच्च माध्यमिक विद्यालय (कक्षा ११ र १२) चलाउने विद्यालयले किशोर अवस्थाका बालबालिकालाई तह लगाउन डीआईको व्यवस्था गर्दथे। विभिन्न जिल्ला तथा विद्यालयाबाट भर्ना हुन आउने र फरक विचारका कारण विद्यार्थी एकआपसमा लड्ने, अझ धेरै सङ्ख्यामा विद्यार्थी भएका ठाउँमा अनुशासन कायम गर्न डीआई राखिने गरिन्थ्यो,” उनी भन्छन्।
तर, कक्षा १० सम्म अध्यापन गराउने विद्यालयमा यस्ता शिक्षकको आवश्यकता नै नपर्ने उनी बताउँछन्। सानैदेखि शिक्षकले हरेक विद्यार्थीलाई चिनेको र कक्षा उकालो लाग्दै गएपछि व्यवहार थाहा हुने भएका कारण डीआईको आवश्यकता नपर्ने सापकोटाको भनाइ छ।
विद्यालय शिक्षामा डीआई नै भनेर कुनै पनि शिक्षकलाई जिम्मेवारी दिइँदैन। न सरकारी विद्यालय न त निजीमा यसको दरबन्दी राखिन्छ। डीआई विषयगत अध्यापन गराउने वा क्लास टिचरलाई नै अनुशासन कायम गराउने जिम्मा दिइन्छ।
विद्यार्थीलाई अनुशासन कायम गराउने दबाब अभिभावकबाटै हुने गरेको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन्। अभिभावक पनि आफैं सचेत हुनुपर्ने उनको भनाइ छ। “विद्यालयले बालबालिका पिट्दा यसको विरोध गर्नुपर्छ, किनकि अबको युगमा पनि बालबालिका पिटेर तह लगाउने भनेको गलत हो,” उनी भन्छन्।
विद्यार्थीलाई पिट्ने अभ्यास गलत भएको उनी बताउँछन्। “अन्तर्राष्ट्रिय स्तरमा पनि बालबालिकालाई घर तथा विद्यालयमा पिट्न हुन्न भनिएको छ, तर हाम्रो देशमा अझै पनि यसको अभ्यास भई नै रहेको छ, जुन गलत हो,” भण्डारी भन्छिन्।
उनका अनुसार, हरेक महीना कुनै न कुनै सञ्चार माध्यमबाट विद्यार्थी कुटिएर चोटपटक लागेका खबर सुनिन्छ। सरकारी विद्यालयको दाँजोमा सबैभन्दा बढी निजी विद्यालयमा यस्ता घटनाहरू धेरै भएका छन्। “सरकारी विद्यालयमा यस्ता खबर कमै सुनिन्छन्, किनकि त्यहाँ तालीमप्राप्त शिक्षक हुन्छन् भने अर्कातिर निजी विद्यालयमा शिक्षकले तालीम पाएका हुँदैनन्,” भण्डारी भन्छन्, “शिक्षक भएर पनि विद्यार्थीलाई कसरी सम्बोधन गर्ने, सजाय दिन हुन्छ कि हुँदैन, नबुझेकै कारण यस्ता घटनाहरू हुने गर्छन्।”
विद्यार्थी पिट्ने शिक्षक कानून अनुसार सजायका भागीदार हुन्छन्। शिक्षकलाई फौजदारी कानून पनि लाग्छ। बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ अर्न्तगत दफा ६६ (घ) अनुसार घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने र उपदफा (ङ) शारीरिक चोटपटक वा असर पुर्याउने, आतङ्कित पार्ने, वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिए बालबालिका विरुद्धको कसूर मानिने उल्लेख छ। कानून अनुसार, यो कसूर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था छ।
त्यस्तै, शिक्षक तथा विद्यार्थीको आचारसंहिता अनुसार, विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने उल्लेख गरlएको छ। आचारसंहिताको पालना भए-नभएको अभिलेख शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा व्यवस्थापन समितिले राख्नुपर्ने र आचारसंहिता पालना नभएको भए यसको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
“हामीले एक दशकअघि नै विद्यालयमा दण्डरहित शिक्षा लागू हुनुपर्ने र डीआई राख्न नपाउने माग गर्दै आएका थियौं। विभिन्न १६ वटा शिक्षामा काम गर्ने संस्थाहरूसँग मिलेर यसबारे २०६५/६६ मा बहस पनि गरेका थियौं,” अध्यक्ष भण्डारी भन्छन्, “विद्यालयमा डीआईको व्यवस्था गरिनुहुन्न। यसको सट्टा मनोसामाजिक परामर्शदाता राखिनुपर्छ भनेर सरकारलाई सुझाएका थियौं।”
छलफलपछि उच्च माध्यमिक शिक्षा परिषद् (हाल राष्ट्रिय परीक्षा बोर्ड)ले आचारसंहिता तयार पारेको थियो। उच्च माध्यमिक तह (हाल माध्यमिक तह) का लागि सरकारले २०६५ मा तयार पारेको आचारसंहिता अनुसार, हरेक विद्यालयले परामर्श एकाइ अनिवार्य रूपमा राख्नुपर्छ र विद्यार्थीलाई आवश्यकता अनुरूप शैक्षिक तथा मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
तर, धेरैजसो यस्ता घटनाहरूमा अभिभावक तथा विद्यालयबीच सहमतिमै टुङ्गिने गरेको भण्डारी बताउँछन्। विद्यालयले आफ्नो छवि बिग्रेला भनेर पनि सहमति गर्ने गरेको पाइएको छ।
यौन दुर्व्यवहार तथा विद्यार्थीलाई शारीरिक रूपमा नराम्ररी घाइते बनाउने केही शिक्षकले सजाय पनि पाएका छन्। यस्ता घटना अदालतसम्म पनि पुगेका छन् भने केही शिक्षकलाई जागीरबाटै निष्कासन गरिएको छ। विद्यालय व्यवस्थापन समितिले पनि विद्यार्थी पिट्ने शिक्षकलाई डिमोशन गर्ने, निलम्बन गर्ने कदम चाल्नुपर्ने विज्ञहरू बताउँछन्।