बेलकाे खेल
आईसीसी विश्वकप क्रिकेट–२०१९ मा खेलाडीको प्रदर्शन जस्तै जित र हारको कारक बन्न थालेको छ, स्टम्पमाथि राखिने बेलको रोचक स्वभाव।
इङ्गल्याण्ड र वेल्समा जारी आईसीसी विश्वकप क्रिकेट–२०१९ को चर्चा विस्तारै चुलिंदो छ । २० ओभरको छोटो–छरितो खेलको मजा लिने बानी परेका दर्शकले एकदिवसीय क्रिकेटमा चाख नदिने हुन् कि भन्ने चिन्तामा रहेका अधिकारीहरूले यसको आकर्षण गुम्न नदिन विभिन्न प्रयोग गरिरहेका छन् ।
विश्वकपको प्रारम्भिक चरणका खेलहरू शुरू भइसक्दा वर्षाले केही निर्णायक खेलमा कुनै ठूलो राष्ट्रलाई असर पार्न सक्ने आशंका गरिएको छ । प्रतियोगितामा खेलाडीहरूको चर्चा त सदाबहार पाटो नै भयो । यहाँ चर्चा गर्न खोजिएको विषय भने विकेट स्टम्पमाथि राखिने दुई वटा बेलबारे हो ।
बेल नझारेसम्म ब्याट्सम्यान आउट नहुने क्रिकेटको सामान्य नियम हो । चाहे बल र बेलले कुस्ती नै किन नखेलेको होस्, बेल नझार्नुको मतलब हो– ब्याट्सम्यानलाई जीवनदान मिल्नु र बलर हिस्स पर्नु ।
स्टम्पमा बल लागेपछि भुइँमा खस्नुपर्ने नियम बेलले पूरा नगर्दा विश्वकपमा ठूलै उथलपुथल हुने संकेत देखिएको छ । जित्ने टोली हार्ने वा सस्तैमा आउट हुने खेलाडीले शतक ठोक्ने वा बलरहरूको मिहिनेतलाई जिस्क्याउने स्थिति निम्तिन सक्ने र यसले अझौ रोचक नतिजा ल्याउने देखिएको छ।
९ जूनमा भारत र अष्ट्रेलियाबीच भएको खेलको दोस्रो ओभरमा त्यस्तै स्थिति देखियो । भारतका तेज गतिका बलर जसप्रित बुमराहले फ्याँकेको बल अष्ट्रेलियाका डेविड वार्नरको ब्याटलाई छुँदै स्टम्पमा लाग्यो । बुमराह खुशीले उफ्रिए । तर बेल झारेन । जारी विश्वकपमा यस्तो घटना पहिलो होइन । अहिलेसम्म खेलिएका खेलमा पाँच पटक यस्तो क्रम दोहोरिसकेको छ ।
किन खस्दैन बेल ?
विकेटको बेल नखस्नुको कारण एकथरीले यसको तौललाई मानेका छन् । बेलभित्र विशेष प्रकारको ‘फ्ल्यास लाइट’ राखिएको छ, जसले गर्दा यो केही गह्रुँगो भएको छ । बेलमा बल लाग्दा त्यो ‘फ्ल्यास लाइट’ बल्छ, तर बलको वेग धेरै भएन भने बेल खस्दैन । अष्ट्रेलियाका कप्तान आरोन फिन्च भन्छन्, “मलाई लाग्छ, लाइट राखिएको नयाँ बेल गह्रुँगो छ । त्यसैले यसलाई खसाल्न अलि तागत चाहिने रहेछ ।”
कतिपयको भनाइमा, बेल अड्याउन विकेटमाथिको भागको खाल्डो अलि गहिरो बनाइएको छ र यसले गर्दा सानोतिनो गतिको बललाई बेलले टेर्दैन ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भने बेलमा कुनै समस्या देखेको छैन ।
सामान्य दिनमा राखिने र तीव्र हावा चल्ने अनुमान गरिएको दिन राखिने बेलको तौल फरक हुनु मात्र भिन्नता रहेको आईसीसीले जनाएको छ । तर, एक दर्जनभन्दा बढी खेल सकिंदासम्म पटकपटक घटना दोहोरिनुले प्रतियोगिताको नतिजामा ठूलो असर पर्न सक्ने भन्दै यसमाथि प्रश्नहरू उठिरहेका छन् ।
धजारी विश्वकपमा स्टम्पमा बल लागेर पनि बेल नखस्ने स्थिति कुन–कुन खेलमा देखियो, यसबारे चर्चा गरौं ।
१. इङ्गल्याण्ड विरुद्ध दक्षिण अफ्रिका
खेल ११औं ओभरमा थियो । लेग स्पिनर आदिल रसिदले दक्षिण अफ्रिकी ब्याट्सम्यान क्विन्टन डिकक्लाई बल फ्याँके । अफ स्टम्पमा फ्याँकेको बललाई डिकक्ले रिभर्स स्विप गर्ने प्रयास गरे । बल डिकक्को ब्याट हुँदै विकेटमा बज्रियो । इङ्गलिस बलरलाई लाग्यो, डिकक् बोल्ड भए । तर, बेल नखस्दा भइदियो उल्टो । डिकक्ले चार रन पाए ।
२. न्युजिल्याण्ड विरुद्ध श्रीलंका
श्रीलंकाको पारीको छैटौं ओभरको खेल चलिरहेको थियो । न्युजिल्याण्डका तेज बलर ट्रेन्ट बोल्टको निशानामा थिए, श्रीलंकाका ब्याट्सम्यान करुणारत्ने । करुणारत्नेले बल कट गर्ने प्रयास गरे । बल ‘इनसाइड एज’ हुँदै स्टम्पलाई छोएर अगाडि बढ्यो । रिप्लेमा हेर्दा बेल विस्तारै हल्लिएर विकेटमै बस्यो ।
३. अष्ट्रेलिया विरुद्ध वेस्ट इन्डिज
वेस्ट इन्डिजको पारीको तेस्रो ओभर चल्दै थियो । मिचेल स्टार्कले क्रिस गेल विरुद्ध गरेको बल ब्याटलाई छुँदै विकेटकिपरको हातमा पुग्यो । स्टार्कले अपील गरे, अम्पायरले आउट दिए । तर, गेलले अम्पायरको निर्णयलाई समीक्षा गर्ने प्रणाली ‘डीआरएस’ को सुविधा तत्कालै प्रयोग गरेर फैसला विरुद्ध चुनौती दिए । समीक्षा गर्दा के देखियो भने, बलले ब्याट नभई अफ स्टम्पलाई छोएर गएको रहेछ । गेल हाँसे, अष्ट्रेलियाका कप्तानले टाउकोमा हात राखे ।
४. इङ्गल्याण्ड विरुद्ध बाङ्लादेश
४६औं ओभरमा इङ्गल्याण्डका बेन स्टोक्सले शट पिच बल फ्याँके । बाङ्लादेशका ब्याट्सम्यान मोहम्मद सैफुद्दिन ब्याट घुमाउने क्रममा लाइन भन्दा पछाडि पुगे । बल उनको शरीरमा लाग्दै झारेर विकेटमा खस्यो । तर बेल यथावस्थामा स्टम्पमै रहँदा २२ वर्षीय बाङ्लादेशी अलराउन्डरले जीवनदान पाए ।
५. भारत विरुद्ध अष्ट्रेलिया
खेल भर्खरै शुरू भएको थियो । दोस्रो ओभरमा भारतका तेज बलर जसप्रित बुमराहले डेविड वार्नरलाई बल प्रहार गरे । वार्नरले रक्षात्मक खेल्दै बल रोक्न खोजे । तीव्र गतिले गएको बल ब्याट र जीउको बीचबाट गएर स्टम्पमा लाग्यो । तर, बेल खसेन ।