सरकारी अकर्मण्यताले पाठ्यपुस्तक अभाव, दोष जति युक्रेन युद्धलाई
विद्यालय तहको पाठ्यपुस्तक छपाइ र वितरण गर्ने सरकारी आधिकारिक संस्था जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका हाकिमहरूकै भनाइ एकआपसमा बाझिएका छन्। कोही कोभिड-१९ लाई कारण देखाउँछन्‚ कोही स्थानीय तह निर्वाचन र रूस-युक्रेन युद्धलाई देखाउँछन्।
हरेक दिन, हरेक कक्षा, हरेक घण्टी; विद्यार्थीहरूको एउटै प्रश्न– किताब कहिले आउँछ? जेठदेखि शुरू भएको यो प्रश्नको उत्तर अहिलेसम्म पनि दिन सकिएको छैन। विद्यालयहरू धमाधम बर्षे बिदा हुँदैछन्, किताबको कहिले आउने अझै छाँटकाँट छैन!
नेपालमा विद्यालय तहको शैक्षिक सत्र वैशाखमा शुरू हुन्छ। गत दुई वर्ष कोरोना–१९ महामारीका कारण नियम अनुसार शैक्षिक सत्र सञ्चालन भएन। गत वर्ष चैतमा सकिनुपर्ने शैक्षिक शत्र वैशाखमा सकियो। त्यसैले वैशाखमा शुरू हुनुपर्ने अर्को शैक्षिक वर्ष जेठमा शुरू भयो।
शैक्षिक सत्रको शुरूमै विद्यार्थीको हातहातमा पूरा सेट किताब पुग्नुपर्थ्यो, पुगेन। पढाइ शुरू भए पनि शैक्षिक सत्रको पहिलो महीनालाई विद्यार्थी भर्ना अवधि मानिन्छ। त्यसैले जेठभर पुगेको भए पनि ठीकै थियो। तर, साउन मध्य हुँदा समेत आइपुगेन। किताब आउँदै नआएको भने होइन, ढिलो आयो त्यो पनि अपूरो। हरेक कक्षाका दुई तीन विषयका किताब छैनन्। कुनै कक्षाको त पूरा सेट नै आएन। सङ्ख्या र विषयगत दुवै रूपमा अपूरो किताब आयो।
विद्यार्थी शिक्षकलाई सोध्छन्, शिक्षक हेडसरलाई सोध्छन्, हेडसर किताब दोकानेलाई सोध्छन्, कसैसँग जवाफ छैन। पाठ्यपुस्तक खरीद गरेको बिल र वितरण गरेको भर्पाई ‘जसरी पनि’ असार दोस्रो सातासम्म बुझाउन हेडसरहरूलाई निर्देशन गर्ने स्थानीय सरकारहरूसँग पनि किताब छैन।
सरकारी विद्यालयमा निःशुल्क वितरण हुने पाठ्यपुस्तक अभाव हुने र ढिलो हुने कुरा नयाँ भने होइन। यो वर्ष झन् बढी ढिलो भयो। विगतमा दुर्गमका विद्यार्थीले मात्र समयमै किताब पाएनन् भन्ने खबर आउँथ्यो। यो वर्ष त सुगमका विद्यार्थीले पनि पाएका छैनन्। प्रदेश १ को राजधानी विराटनगरका सरकारी विद्यालयहरूले आफूलाई चाहिने जति पाठ्यपुस्तक पाएका छैनन्।
विगतमा दुर्गमका विद्यार्थीले मात्र समयमै किताब पाएनन् भन्ने खबर आउँथ्यो। यो वर्ष त सुगमका विद्यार्थीले पनि पाएका छैनन्।
अंग्रेजी माध्यममा पढाउने निजी विद्यालयहरूले सरकारी स्वीकृति पाएका बेग्लै किताब प्रयोग गर्छन्। उनीहरूका लागि बजारमा दर्जनौं प्रकाशन छन्। छानी छानी, वर्षैपिच्छे फेरीफेरी किताब प्रयोग गर्छन्। किताबको गुणस्तरको नाममा कमिशनको भूमिका त छँदै छ। निजी विद्यालयले सरकारी प्रकाशनकै अनिवार्य नेपाली र अनिवार्य अंग्रेजीका विषयका किताब नै प्रयोग गर्छन्। सामाजिक अध्ययन विषय पनि नेपालीमै पढाउनु भन्ने आदेशलाई भने उनीहरूले खासै टेरेको देखिएको छैन। नेपाली, अंग्रेजी किताब अभाव निजीलाई पनि छ, तर विद्यार्थी आफैंले व्यवस्थापन गर्नुपर्ने हुनाले पुरानो होस् या फुटकर, जहाँसुकैबाट ल्याए पनि चल्छ। त्यसैले सरकारीमा जस्तो समस्या छैन। सरकारीले एकमुष्ट खरीद गरेर विद्यार्थीलाई वितरण गर्नुपर्ने हुन्छ, फुटकर चल्दैन।
पढाइ माध्यम भाषाको आधारमा सरकारी विद्यालय तीन प्रकारका छन्। नेपाली, अंग्रजी र दुवै माध्यममा पढाइ हुने। अंग्रेजी माध्यममा पढाइ हुने शहरका केही सरकारी विद्यालयले निजी प्रकाशनकै किताब प्रयोग गर्छन्। अंग्रेजी माध्यमका सरकारी किताब पनि छन्, तर अंग्रेजी माध्यमको भनेपछि सरकारीले पनि छूटको अधिकार पाउँदो रहेछ। नेपाली माध्यममा पढाइ हुने विद्यालयको त आम समस्या भइहाल्यो। दुवै माध्यम हुने विद्यालयमा अंग्रेजी माध्यमकाहरू झोलाभरि किताब बोकेर विद्यालय आउँछन्, नेपाली माध्यमका विद्यार्थीहरू दुई-चार कापी च्यापेर आउनुपर्ने बाध्यतामा छन्।
कतिपय विद्यालयहरूले अस्थायी समाधानका उपाय पनि निकालेका छन्; विद्यार्थीबाट पुराना किताब लिने। वेलैमा किताब पाइँदैन भन्ने जगजाहेर कुरालाई सम्बोधन गर्ने। नयाँ किताब नआउन्जेल अघिल्लो वर्षकाले पढेका किताब पढ्ने। विद्यालयमा अघिल्लो वर्षको विद्यार्थी तथ्याङ्कको आधारमा पाठ्यपुस्तक अनुदान आउँछ। विद्यार्थी सङ्ख्या बढ्यो भने केही विद्यार्थीलाई पुग्दैन। कक्षा १, कक्षा ४, कक्षा ६ र कक्षा ९ मा हरेक वर्ष यो अवस्था रहिरहन्छ। यी कक्षाहरूमा नयाँ भर्ना र सेवा क्षेत्रका साना विद्यालयबाट कति विद्यार्थी आउँछन् भन्ने थाहा हुँदैन। यो वर्ष पुरानो किताबले काम चलाउने उपायले पनि सबै कक्षामा काम गरेन। कक्षा ४, कक्षा ७ र कक्षा ९ को किताब सेटै फेरियो। यिनलाई पूरानो किताब दिएर कामै भएन।
जनक शिक्षाले जेसुकै भने पनि बजारमा किताब छैन। बजारमा नभएपछि विद्यालयमा पुग्ने कुरै भएन। विद्यालयमा नपुगेपछि विद्यार्थीको हातहातमा झन् कसरी पुग्छ!
कारण के होला?
समयमा किताबको अभाव होला भन्ने यो वर्ष पनि आकलन गरिएकै थियो। तर‚ सरकारी निकायहरू शैक्षिक सत्र शुरू हुनासाथ विद्यार्थीका हातहातमा किताब पुग्ने दाबी गर्दै थिए। नियमित भोगीहरूले पत्याइरहेका थिएनन्। भयो त्यसै।
शुरूमा किताब आएन। माग, प्रश्न र असन्तुष्टि देशैभरिबाट आउन थाल्यो। विद्यालय तहको पाठ्यपुस्तक छाप्ने तथा वितरण गर्ने सरकारी आधिकारिक संस्था जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका हाकिमहरू कोही कोभिड-१९ को कारण सबैथोक ठप्प भएको लहरमै जनक शिक्षा सामग्री केन्द्र पनि परेको बताउने। कोही वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको सामग्री छाप्नुपर्ने हुनाले प्रेस एक महीनाभन्दा बढी समय त्यसैमा व्यस्त हुने भएको भन्ने। किताब छाप्ने संस्थाका हाकिमहरूकै भनाइ एकआपसमा बाझिए।
यसैबीच शिक्षामन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रको आकस्मिक अनुगमन गरेको भिडिओ क्लिप सार्वजनिक भयो। भिडिओमा मन्त्री पौडेल जनक शिक्षाको छापाखानामा छापामार शैलीमा पुगेका छन्। त्यहाँका कर्मचारीहरू अत्तालिएर यताउता गर्दैछन्। प्रबन्ध निर्देशक अनिलकुमार झा हस्याङफस्याङ गर्दै मन्त्री अगाडि हाजिर हुन्छन्।
मन्त्री पौडेल कड्किन्छन्, “किताब पुगेन भनेर देशभरिबाट आवाज आइरहेको छ‚ तपाईं आनन्दले घरमा आराम गर्ने?” अनि सोध्छन्, “के कारणले किताब समयमा भएन?” प्रबन्ध निर्देक झा भन्छन्, “युक्रेन युद्धको कारण छपाइ कागजको अभाव भएर हो।” मन्त्री पौडेलको पारो झन् चढ्छ, “उहाँ युक्रेनमा युद्ध हुन्छ‚ यहाँ कागज कसरी अभाव हुन्छ? यस्तो पनि तर्क हुन्छ? युक्रेन युद्धले के भयो हामीलाई थाहा छैन? सरासर झूट बोल्ने? कुनै पनि बहाना अब चल्दैन।”
शिक्षा प्रशासक, शिक्षाविद्, प्रशिक्षकहरू पढाइ किताब अनुसार होइन, पाठ्यक्रम अनुसार चलाउने भनी प्रवचन दिन्छन्। तर‚ पाठ्यक्रम मात्रै बोकेर राम्ररी चल्न सक्ने कक्षाकोठा कति छन् भन्ने न कसैले सर्वेक्षण गरेको छ न आदेश उपदेश प्रवचन दिनेहरूले बुझेका छन्।
त्यसो त जनक शिक्षक सामग्री केन्द्रले जेठ ५ गते नै कक्षा ४ देखि कक्षा १२ सम्मको पाठ्यपुस्तक बिक्री खुला भएकाले विक्रेताहरूले कम्पनीको प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न सार्वजनिक सूचना निकालेको थियो। कक्षा ३ सम्मका किताब निजी क्षेत्रले छाप्छ। विक्रेताहरूले पर्याप्त किताब नपाएको गुनासो गरे, गरिरहे। गुनासो गर्नेको सूची बढ्दै गयो। संसद्मा समेत कुरा उठ्यो। जनक शिक्षाले जेठ २५ गते दोष जति विक्रेता र विद्यालयहरूलाई थुपरेर अर्को सूचना जारी गर्यो।
सूचनामा भनिएको छ, “विगतमा पाठ्यपुस्तक ढुवानी र बिक्रीवितरणको सन्दर्भमा कतिपय अवस्थामा स्थानीय विक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयहरूबाट समयमै नलैजाने र स्थानीय विक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयहरूले समयमा खरीद नगर्ने जस्ता कारणहरूले विद्यार्थीहरूले समयमा नै पाउनुपर्ने पाठ्यपुस्तकहरू पनि नपाएको अवस्था देखिंदै आएको छ।”
जनक शिक्षाले जेसुकै भने पनि बजारमा किताब छैन। बजारमा नभएपछि विद्यालयमा पुग्ने कुरै भएन। विद्यालयमा नपुगेपछि विद्यार्थीको हातहातमा झन् कसरी पुग्छ! के कारणले अभाव भएको हो‚ कसैलाई थाहा छैन। स्वयं जनक शिक्षाका हाकिमहरू पनि विभिन्न कारण बताइरहेका छन्।
किताब अभावको असर
शिक्षा प्रशासक, शिक्षाविद्, प्रशिक्षक सबैले आदेश उपदेश प्रवचन दिने हो, “पढाइ किताब अनुसार होइन, पाठ्यक्रम अनुसार चलाउने। पाठ्यपुस्तक सहयोगी सामग्री हो, पाठ्यक्रम प्रमुख हो।”
सेवा प्रवेशभन्दा अगाडि शिक्षा विषय पढेका शिक्षकहरूलाई यो कुरा थाहा नहुने कुरै होइन। विद्यार्थीले पाठ्यक्रम अनुसार ज्ञान, सीप र अभिवृत्ति हासिल गर्ने हो भन्ने पनि थाहा छ। माथिकाले सिद्धान्त फलाक्ने हो, कक्षाकोठामा शिक्षक भिड्ने हो। यहीं सिद्धान्त र व्यवहारको तालमेलको कुरा आउँछ। सिद्धान्त अनुसार व्यवहार गर्ने कि व्यवहार संश्लेषणबाट सिद्धान्त बन्छ भन्ने दार्शनिक प्रश्न तेर्सिन्छ। विद्वान्हरू सिद्धान्त अनुसार व्यवहार गर्न जोड दिन्छन्। कार्यथलोकाहरू सिद्धान्तहरू अव्यावहारिक भएको महसूस गर्छन्। पाठ्यक्रम मात्रै बोकेर राम्ररी चल्न सक्ने कक्षाकोठाहरू कति वटा सरकारी विद्यालयमा कति छन् भन्ने न कसैले सर्वेक्षण गरेको छ न आदेश-उपदेश प्रवचन दिनेहरूले बुझेका छन्।
पुस्तकालय अनुदानबाट किनिएका किताब विद्यालयका आवश्यकता, शिक्षक विद्यार्थीका माग अनुसारका छैनन्, बजारका ‘जङ्क बूक’ सोहरी ल्याएर पुस्तकालय नामको कोठामा थुपारिएका छन्।
किताब अभावले दैनिक कक्षा चलाउने त प्रमुख समस्या हुँदै हो। सूचना प्रविधिको नमूनासम्म सबैजसो विद्यालयमा होलान्, अति कममा मात्रै सञ्चालनमा छन्। १० वटा कक्षामा जम्माजम्मी एउटा प्रोजेक्टर होला। ती कुनै कुनै दिन कुनै कुनै घण्टीमा कुनै कुनै कक्षालाई अलि बढी मनोरञ्जन र अलि कम सिकाइमा प्रयोग हुन्छन्। बिजुली जाने आउनेको टुङ्गो हुन्न। पुस्तकालय छैन। पुस्तकालय अनुदानबाट किनिएका किताब हेडसरहरूको मनोमर्जीका छन्। विद्यालयका आवश्यकता, शिक्षक विद्यार्थीका माग अनुसारका छैनन्, बजारका ‘जङ्क बूक’ सोहरी ल्याएर पुस्तकालय नामको कोठामा थुपारिएका छन्।
शारीरिक शिक्षा जस्ता बढी व्यावहारिक र प्राथमिक तहका साना कक्षाहरूमा किताब विना पनि उत्तिकै प्रभावकारी रुपमा कक्षा सञ्चालन गर्न सकिन्छ। जति कक्षा चढ्दै गयो उति किताबको जरुरी बढ्दै जान्छ। विद्यालय तहका माथिल्ला कक्षाहरूमा किताबमा आधारित अभ्यासहरू धेरै हुन्छन्। साथै‚ विषयको प्रकृतिले पनि फरक पार्छ। नेपाली‚ अंग्रेजीका व्याकरण तथा अन्य भाषिक–प्राविधिक पाटो किताब विना सम्भव छ। साहित्यको पाटो किताब विना सम्भव छैन, मूलपाठ पढ्नैपर्छ। बोध अभ्यासहरू किताब विना सम्भवै हुन्नन्। विद्यार्थीसँग किताब नभएपछि कक्षाहरू अनियन्त्रित रूपमा होहल्लामय भएको शिक्षकहरूको अनुभव छ। किताब अभावको असर शैक्षिक सत्रको अन्तिममा हुने वार्षिक परीक्षाहरूको नतीजामा देखिने अवस्था छ।