काठमाडौंबाट हराएका ‘प्रकृतिको कुचीकार’
काठमाडौंमा गिद्ध नदेखिनु भनेको काठमाडौं स्वच्छ र स्वस्थ छैन भन्ने सन्देश हो।
संसारभरका चरा अवलोकनकर्ता र फोटोग्राफरहरूले आफूले देखेका चराका प्रजाति, तिनको सङ्ख्या, आवाज र फोटा तथा भिडिओको सुरक्षित भण्डारण गर्नुका साथै ती तथ्य–तथ्याङ्क सबैको सहज पहुँचमा उपलब्ध गराउन सहयोगी अनलाइन हो– इबर्ड।
यसमा भएका विश्वभरका १० हजार ६२४ चरा प्रजातिका विवरणलाई सात लाख ९६ हजार ७७६ चरा अवलोकनकर्ताले उपलब्ध गराएका हुन्। यस अनलाइनमा नेपालबाट एक हजार ४६४ चरा अवलोकनकर्ताले जानकारी उपलब्ध गराउँदै ८२५ प्रजातिका चराको विवरण, सङ्ख्या, आवाज, फोटो र भिडिओ अपलोड गरेका छन्।
केही महीनाअघि इबर्डमा अपलोड गरिएका नेपालका चराका तथ्याङ्क प्रमाणीकरण र अध्ययन गर्ने क्रममा काठमाडौं उपत्यकामा खिचिएको लोपोन्मुख डङ्गर गिद्धको पुरानो फोटोले सबैको ध्यान खिच्यो। पानामाका पन्छी अध्येयता रिक ज्याकोब्सन र लेनोइ भेन्रोजीले सन् १९९२ अप्रिल पहिलो हप्ता टौदह जाने बाटोमा खिचेका उक्त फोटोमा डङ्गर गिद्धका माउ र बच्चाले गाईको सिनो लुछिरहेको देखिन्छ। त्यस्तै, अर्को फोटोमा सल्लेरी वनमा गिद्धको समूह घाम तापिरहेको छ।
अत्यन्तै दुर्लभ र ऐतिहासिक सो फोटोबारे उनीहरूसँग जिज्ञासा राख्दा त्यति वेला उनीहरूले उपत्यकामा ६१ वटा डङ्गर गिद्ध देखेको र त्यति खेर खिचिएको नेगेटिभ बिग्रिएकाले थप फोटा निकाल्न नसकेको दुःख मनाउ गरे।
वैशाख महीना गिद्धको बचेरा उडाउने वेला हो र उक्त फोटोमा डङ्गर गिद्धको वयस्क र बचेरा पनि देखिएकाले त्यति वेला डङ्गर गिद्धले उपत्यकाभित्र कतै गुँड बनाएर बच्चा कोरेको हुन सक्छ।
सन् १९८५ मार्च २२ मा रेग्नर हलले विष्णुमती नदी किनारमा ३५ वटा डङ्गर गिद्ध र एउटा सेतो गिद्ध देखेको इबर्डमा उल्लेख छ। एन्ड्रेस हगलुन्डले सन् १९८६ मार्च १९ मा स्वयम्भू क्षेत्रमा ४० डङ्गर गिद्ध, ३० सानो खैरो गिद्ध, १० हिमाली गिद्ध र सोही साल मार्च २० मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा डङ्गर गिद्ध १०, सानो खैरो गिद्ध ३० र खैरो गिद्ध एक अनुगमन गरेको तथ्याङ्क इबर्डमा छ।
पउल म्याकेन्जीले सन् १९९१ अप्रिल २१ मा कुपन्डोलको बाग्मती किनारमा ५० वटा डङ्गर गिद्ध, एउटा सेतो गिद्ध, सन् १९९३ मार्च ६ मा भक्तपुरमा एउटा हाडफोर गिद्ध र सन् १९९३ अप्रिल १७ मा फूलचोकी वनमा १० वटा डङ्गर गिद्ध र एउटा राजगिद्ध देखेको इबर्डमा उल्लेख छ।
यी ऐतिहासिक तथ्याङ्कले ३०–३५ वर्षअघि काठमाडौं उपत्यकामा प्रकृतिको कुचीकार गिद्धको राम्रो उपस्थिति रहेको पुष्टि हुन्छ। नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध उपत्यकाबाट अभिलेख भएका छन्। हामीसँग पन्छी अवलोकनको व्यवस्थित अभिलेख र तथ्याङ्क नभए पनि उपत्यकाका रैथाने किसान समूहमा छलफल गर्दा बागमती, विष्णुमती र मनोहरा खोला किनारमा सयौंको सङ्ख्यामा हुने गिद्धका झुन्डले सिनो लुछाचुँडी गरिरहेका दृश्य सामान्य थियो।
२०४४ साल ताका टेकु दोभानमा करीब एक सयको हाराहारीमा गिद्धले सिनो खाइरहेको र आफूले रमाउँदै लखेटेको घटना एक जना प्रौढले हामीलाई सुनाएका थिए। त्यो समय सयौंको सङ्ख्यामा रहेका गिद्धले उपत्यकाका खेतका फाँट वा खुला ठाउँमा फालिएका गाई, गोरु र भैंसीको सिनो लुछ्दै र यहाँका नदीमा बग्ने स्वच्छ र सफा पानी पिउँदै रमाउँथे होलान्।
सन् १९८० को दशकमा संसारमा सबैभन्दा सजिलै र ठूलो सङ्ख्यामा देख्न पाइने चरा गिद्ध नै थिए। तर, पछिल्ला दशकमा सबैभन्दा तीव्र गतिमा घटिरहेका र लोपोन्मुख चरा पनि गिद्ध नै हुन्। सन् १९८० को दशकमा नेपालमा अनुमानित १० देखि १६ लाखको सङ्ख्यामा पाइने गिद्ध पछिल्लो दशक ९० प्रतिशतभन्दा बढीले घटेर २० हजारमा सीमित भएका छन्।
नेपालमा हाल पाइने आठ प्रजातिका अति सङ्कटापन्न चरामध्ये चार प्रजाति त गिद्ध नै छन्। बाघ, हिउँ चितुवा, गैंडा, हात्ती, हाब्रेभन्दा पनि थप सङ्कटमा छ, गिद्ध।
गिद्ध विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो। सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात् उक्त सिनो खाँदा गिद्धको मिर्गाैलामा असर गर्दछ। समूहमा खाने गिद्धलाई ३० मिलिलिटरको एक भाएल डाइक्लोफेनेक सङ्क्रमित एउटै सिनोले ३५० देखि ८०० गिद्ध मर्न सक्छन्।
गिद्ध संरक्षणका लागि नेपाल सरकारले सन् २००६ मा पशु उपचार प्रयोगमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन शुरू गर्यो। त्यसै वेलादेखि नै गिद्धलाई डाइक्लोफेनेकरहित सुरक्षित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले स्थानीय समुदायको सक्रियतामा समुदाय स्तरका जटायु (गिद्ध) रेस्टुरेन्टको सञ्चालन पनि गरियो।
सन् २००६ मा प्रतिबन्ध लगाइए पनि डाइक्लोफेनेकको उपलब्धता सन् २०१० सम्म नै रह्यो। परिणामतः गिद्धको सङ्ख्या घटिरह्यो। त्यसपछि गिद्ध संरक्षणलाई बृहत् भूदृश्य स्तरमा स्थानीयदेखि अन्तरदेशीय साझेदारीमा अझ व्यापक र प्रभावकारी बनाउन गिद्ध सुरक्षित क्षेत्रको अवधारणा ल्याइयो। सन् २०१२ देखि २०१७ सम्मको अध्ययनमा भने नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सिक्यामको पशु–उपचारमा प्रयोग करीब ९० प्रतिशत पाइयो भने हानिकारक डाइक्लोफेनेकको प्रयोग शून्य। यसको सीधा असर गिद्धको सङ्ख्यामा पनि देखियो।
नेपालको पूर्व–पश्चिम राजमार्गमा गरिएको सर्वेक्षणमा सन् २००२ देखि २०११ सम्म ९० प्रतिशतभन्दा बढीले घटेको दुई लोपोन्मुख डङ्गर गिद्ध र सानो खैरो गिद्धको सङ्ख्या क्रमशः सन् २०१२ र २०१३ बाट सन् २०१८ सम्म आंशिक रूपमा बढेको पाइयो। उक्त अवधिमा पश्चिम नेपालमा यी गिद्धको गुँड सङ्ख्या पनि बढ्यो।
तर, काठमाडौं उपत्यकामा भने गिद्धको पुनरागमन हुन सकेन। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा सन् २००० पछि गिद्धका बथान देखिन छाडेका छन्। कहिलेकाहीं छिटपुट रूपमा देखिए पनि उपत्यकामा हाल गिद्ध देख्न मुश्किल छ। सन् २०१६ को फागुन पहिलो हप्ता नेपाल पन्छी संरक्षण संघमा आबद्ध राजेन्द्र गुरुङको नेतृत्वको टोलीले चोभार क्षेत्रको बाग्मती नदी किनारमा पछिल्लो दशकमा पहिलो पटक सबैभन्दा धेरैको सङ्ख्यामा गिद्धको समूह फेला पारेको थियो। उक्त समूहमा सङ्कटापन्न ४५ हिमाली गिद्धसँगै एक हिउँदे आगन्तुक राजगिद्ध पनि रहेको थियो। त्यसपछिका दिनमा त्यस खालको गिद्ध देखिएको अभिलेख छैन।
गिद्धको उपस्थिति स्वच्छ र स्वस्थ पर्यावरणको सूचक हो। सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको वृद्धिलाई रोकी मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोग र पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगको महामारीबाट बचाउँछ। यसर्थ गिद्धले परापूर्वकालदेखि नै पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तुलन र गतिशील बनाउँदै पारिस्थितिकीय स्वस्थताको सूचक रूपमा काम गरिरहेको छ।
काठमाडौंमा गिद्ध नदेखिनु भनेको काठमाडौं स्वच्छ र स्वस्थ छैन भन्ने सन्देश हो। एक अध्ययन प्रतिवेदन अनुसार गिद्धले गर्ने कामलाई आर्थिक पाटोबाट हेर्दा एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबरको सिनो सफाइमा योगदान पुर्याउँछ।
घरैघरले भरिंदै गएको उपत्यकामा खुला ठाउँ मासिँदै गए। अग्ला र ठूला रूख काटिए। यहाँका नदीमा बग्ने पानी गिद्ध, अन्य चरा र वन्यजन्तुले पिउन योग्य भएनन्। राजधानीका नदी अत्यधिक प्रदूषणले मृत भएका छन्। फलतः शहर आफैं मृत भएको छ।
शहरका नदी अब नदी रहेनन् फोहर विसर्जनस्थल र ढलमा रूपान्तरित भए। यहाँका नदीमा रहेको अक्सिजनको मात्रा औसतमा ३.२१ मिलिग्राम प्रतिलिटर छ, जबकि माछा लगायत जलीय जीव बाँच्नका लागि पाँचदेखि १५ मिलिग्राम प्रति लिटर घुलित अक्सिजनको आवश्यकता पर्दछ। यहाँको पानीमा अम्लीयपना, एमोनिया, आइरन लगायत हानिकारक रसायनको मात्रा पनि विश्व स्वास्थ्य संगठन र स्वयं नेपालले तोकेको मापदण्डभन्दा पनि अत्यधिक छ।
पानीमा हुनुपर्ने गुण रङ, स्वाद र गन्धहीनताका साथै सङ्लोपना यहाँको शहरी क्षेत्रमा बग्ने कुनै नदीमा छैन। यहाँ त फोहर र रसायन मात्र बगेको छ। आँखाले देख्न सकिने जैविक, अजैविक फोहर थुप्रिएको छ। र, हानिकारक ब्याक्टेरियाको बहुलता छ।
अर्को दुःखद कुरा, हामी प्रदूषणमा पनि नयाँ रेकर्ड कायम गर्दै छौं। संसारभरको वायु गुणस्तर मापन गर्ने स्वीट्जरल्यान्डको संस्था आइक्यु एयरले गत चैतमा सार्वजनिक गरेको सन् २०२१ को नतीजा अनुसार वायु प्रदूषणमा नेपाल विश्वको १०औं प्रदूषित मुलुक र राजधानी काठमाडौं छैटौं प्रदूषित शहर भएको उल्लेख छ। उक्त वल्र्ड एयर क्वालिटी रिपोर्टमा नेपालको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४६ छ। यो डब्लूएचओको मापदण्डभन्दा नौ गुणाले बढी हो।
यस्तै, काठमाडौंको औसत एक्यूआई ५०.९ रहेको रिपोर्टमा उल्लेख छ। यो विश्व स्वास्थ्य संगठनको तोकेको मापदण्डभन्दा १० गुणाले बढी हो। अग्ला घर, चिल्ला सडक र झिलिमिली बत्तीमा विकास र प्रगति खोज्दै जाँदा हामीले शहरी सभ्यता, सुन्दरता, स्वच्छता र स्वस्थताको आधारभूत आवश्यकतालाई बिर्सियौं। वातावरणीय सन्तुलनलाई वास्ता गर्नै छाडिदियौं।
लामो समयदेखि चरा अध्ययनमा लागेका आरेन्ड भेन रिजेनले सन् २००३ देखि २०१६ सम्म बागमती र टौदह क्षेत्रमा चराको अवलोकन गरी प्रकाशित पुस्तकमा बागमती र टौदह क्षेत्रमा २६३ चरा प्रजाति अभिलेख भएका थिए। खास गरी साइबेरिया क्षेत्रबाट जाडो याममा बसाइँ सरी बागमती र टौदह सिमसार क्षेत्रमा आउने ५२ प्रजातिका चराको सङ्ख्या १६ वर्षको अवधिमा तीव्र रूपमा घटेको उनको अध्ययनमा देखिएको छ।
चराहरूलाई वातावरणमा आउने फेरबदल तथा त्यसमा देखिएका समस्याको सङ्केत दिने सूचकका रूपमा लिइन्छ। यसर्थ, अत्यधिक प्रदूषण, विषादीको प्रयोग र वासस्थान विनाशका कारण गिद्ध लगायत आगन्तुक पानी चरा विस्थापित हुँदै गरेको तथ्यले उपत्यकाको बिग्रँदो पर्यावरणीय स्वरूपलाई उदाङ्ग पार्दै छ।
काठमाडौं उपत्यका कुनै वेला चराको पनि राजधानी सरह थियो। नेपालमा अभिलेख भएका चराका ८९२ प्रजातिका करीब दुई तिहाइ चरा प्रजाति काठमाडौं उपत्यकामै पाइन्थे। तर, अहिले यहाँबाट अधिकांश चरा प्रजाति विस्थापित भएका छन्। कति हराए। कति लोप भए। दिगो र सनातन पर्यावरणीय चक्रका सहजीवीहरूलाई लखेटेर सिमेन्टको जङ्गलमा हामी मात्रै कसरी बाँच्न सकौंला र? यसबारे पनि विचार गर्ने कि?
{भुसाल अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) गिद्ध विज्ञ समूहमा आबद्ध छन्।}