६२ वर्षअघि यसरी भएकाे थियाे नेपालमा चिनियाँ दूतावासको स्थापना (तत्कालीन प्रथम सचिवकाे संस्मरण)
नेपाल सरकार र जनताको मनमस्तिष्कमा चिनियाँ दूतावास र कूटनीतिज्ञहरूप्रति राम्रा प्रभाव बसाउनु नै हाम्रो लक्ष्य थियो।
नेपाल हाम्रो देशको मित्रवत् छिमेकी हो। तिब्बतको हाम्रो सिमाना नेपालसँग जोडिएको छ। सन् १९५५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भयो। तर, वर्षौंपछि पनि नेपालमा चीनको दूतावास भने स्थापना भएको थिएन।
भारतका लागि चिनियाँ राजदूतलाई नै अस्थायी रूपमा नेपालका लागि पनि राजदूतको जिम्मेवारी दिइएको थियो। सन् १९५९ मा नेपालका प्रधानमन्त्री बीपी कोइरालाले चीनको भ्रमण गरे। सन् १९६० मा चिनियाँ प्रधानमन्त्री चाओ एन लाई र उपप्रधानमन्त्री चेन यीले नेपालको भ्रमण गरे।
त्यसपछि दुई देशबीचको सम्बन्धले थप गति लियो। नेपाल भ्रमण सकाएर स्वदेश फर्केपछि प्रधानमन्त्री चाओ एन लाईले सकेसम्म चाँडो नेपालमा चीनको दूतावास खोल्न र पूर्णकालीन राजदूत नियुक्त गर्न निर्देशन दिए।
१० दिनमा नेपाल
सन् १९६० जून महीनाको शुरूतिर एक दिन चिनियाँ परराष्ट्र मन्त्रालय अन्तर्गत कर्मचारी विभागले मलाई उपराजदूत (चार्ज डे अफेयर) लिउ यमिनसँग दूतावास स्थापना गर्ने जिम्मेवारीका साथ नेपाल पठाइन लागेको सूचना दिइयो। नेपाल जान तत्काल तयारी थाल्न र १० दिनभित्र नेपाल प्रस्थान गर्न सूचनामा भनिएको थियो। त्यही दिन नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ शिचेई र उपराजदूत लिउसँग दूतावास स्थापनाका लागि गर्नुपर्ने कामबारे छलफल भयो।
परराष्ट्र मन्त्रालयको सूचना हाम्रा लागि आदेश थियो। यो निर्णय पालनामा मैले दृढ प्रतिबद्धता व्यक्त गरें। सामान्य तयारीपश्चात् जून महीनाको मध्यतिर परिवारसँग बिदावारी भएर उपराजदूत लिउ र अन्य केही कमरेडहरूसँग हामी नेपालका निम्ति प्रस्थान गर्यौं।
त्यति वेलाको हवाई यातायात निकै असजिलो खालको थियो। बेइजिङबाट सीधै काठमाडौं उड्ने विमान सेवा थिएन। क्वाङचाओबाट रेलमा हङकङ पुगेर त्यहाँ बेलायती हवाई सेवाबाट भारतको कोलकाता पुग्नुपर्थ्यो। कोलकाताबाट एयर इन्डियाको विमानमा नयाँ दिल्ली पुग्नुपर्थ्यो र पछि बल्ल काठमाडौं उड्न सक्थ्यौं।
यसरी काठमाडौं पुग्न तीन पटक त विमान नै बदल्नुपर्थ्यो। हामी हवाईजहाज कुर्दै केही दिन हङकङमै बास बस्यौं। हङकङ बसाइका क्रममा नयाँ दूतावासका लागि आवश्यक कार, सोफा, दराज आदि सरसामान खरीद गर्यौं। खरीद गरिएका सामान सम्बन्धित कम्पनी मार्फत सकेसम्म चाँडो कोलकाता र त्यहाँबाट भूमि मार्ग हुँदै काठमाडौं पठाउन चाँजोपाजो मिलायौं।
हामी कोलकाता र नयाँ दिल्लीमा दुई-दुई दिन बास बस्यौं। नयाँ दिल्लीबाट काठमाडौंका लागि उड्ने नेपाली विमान दोस्रो विश्वयुद्धमा संयुक्त राज्य अमेरिकाले बनाएको सानो डाकोटा विमान थियो। त्यसले २० जना जति मात्र यात्रु बोक्न सक्थ्यो। हामीले भारतस्थित चिनियाँ दूतावासको एक जना अधिकारीलाई नेपालमा दूतावास खोल्ने काममा मद्दतका लागि सँगै काठमाडौं जान अनुरोध गर्यौं।
उनी त्यसअघि धेरै पटक काठमाडौं गइसकेका थिए। त्यस कारण उनलाई नेपालको परिस्थितिबारे थाहा थियो। उनले नेपालका धेरै अधिकारी पनि चिनेका थिए। दूतावास स्थापनामा उनले निकै मद्दत गरे।
नेपालमा हाम्रो आगमनप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण
नयाँ दिल्लीबाट काठमाडौंको उडान भर्खर भर्खर शुरू भएको थियो। साप्ताहिक उडान पनि धेरै थिएन। हामी काठमाडौं उडेको दिन मौसम राम्रो थियो। नयाँ दिल्लीबाट विमान पश्चिम हुँदै उत्तर-पूर्वतिर हानियो। नेपालको सीमा प्रवेश गरेपछि मैले अग्ला हिमालको शृङ्खला देखें। हिमालको लहर मनमोहक देखिएको थियो। सूर्यको प्रकाशले हिमालको कुम-कुमसम्म हिउँ साँच्चै आकर्षक बनाएको थियो।
हिउँले छोपिएको सेताम्मे हिमाल र हिमालको मुन्तिर हरिया पहाडको ठीक माथि हामी उडिरहेका थियौं। वास्तवमै त्यो दुर्लभ सौन्दर्य थियो।
बिहान झण्डै ११ बजेतिर हामी काठमाडौं उपत्यकाको आकाशमा प्रवेश गर्यौं। विमानबाट खेतका गह्रा, ससाना घर देखिन्थे। अनेकन् आरोह अवरोह पार गर्दै अन्ततः हामी यो सुन्दर र मित्रवत् देशमा पुग्यौं। विमान अवतरण भएपछि त्यहाँ नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गत शिष्टाचार शाखाका अधिकारी र चिनियाँ सहायताकर्मी लगायत धेरै मानिस हामीलाई स्वागत गर्न आए। ६ महीनाभन्दा अघिदेखि सडक, इँट कारखाना र अन्य परियोजनामा सहयोग गर्न चिनियाँ प्राविधिकहरू नेपालमा बस्दै आएका थिए।
नेपालमा चिनियाँ दूतावास स्थापना गर्न चीनले कूटनीतिक अधिकारीहरू पठाएको विषयप्रति अनपेक्षित तहमा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण भयो। हामी काठमाडौं पुगेको दिन पश्चिमा समाचार संस्थाका केही पत्रकारहरूले सङ्क्षिप्त तर महत्त्वपूर्ण समाचार प्रसारण गरे। त्यसमा भनिएको थियो, ‘चीनका उपराजदूत लिउ यमिनसहित तीन जना कूटनीतिक अधिकारी नेपालमा चिनियाँ दूतावास स्थापना गर्न काठमाडौं आइपुगेका छन्। यसले सबैको ध्यान तानेको छ र यसले चीन-नेपाल सम्बन्धमा भएको थप विकास प्रतिविम्बित गरेको छ।’
नेपालमा चीनको दूतावास स्थापना गर्न हामी केही अधिकारीलाई जिम्मेवारी दिइएको थियो। देश देशबीच हुने यो सामान्य घटना हो। तर, यसप्रति पश्चिमा पत्रकारहरूले विशेष ध्यान दिए। चीन, भारत र नेपालबीच त्यति वेलाको संवेदनशील सम्बन्धमा त्यसको केही अर्थ हुन सक्थ्यो। प्रधानमन्त्री चाओको भर्खर सम्पन्न नेपाल भ्रमणसँग त्यो घटना जोडिएको हुन सक्थ्यो। हाम्रो आगमनपश्चात् हामीले नेपाली अखबारमा मात्र समाचार पढ्यौं।
पश्चिमा पत्रकारहरूले कस्तो समाचार लेखे, हामीलाई त्यति वेला थाहा थिएन। पछि, परिवारका चिठीपत्रबाट मात्र हामीले उनीहरूले छापेका समाचारबारे थाहा पायौं। स्थानीय स्रोतलाई उद्धृत गर्दै विदेशी समाचार माध्यमले समाचार प्रकाशित गरेपछि मात्र हामी काठमाडौंमा सकुशल पुगेको भनी ढुक्क भएको हाम्रो परिवारको चिठीमा लेखिएको थियो।
काठमाडौंमा चिनियाँ झण्डोत्तोलन
विमानस्थलबाट हामीलाई पहिला नै चाँजोपाँजो मिलाइएको कोरोनेशन होटेलतिर लगियो। त्यो होटल विमानस्थल जाने बाटोमै पर्ने तीनतले भवन थियो। त्यहाँबाट काठमाडौंको मुख्य शहर नजिकै पर्थ्यो। उतिवेला नेपालको राजधानीका दुई सुविधा सम्पन्न होटलमध्ये एउटा त्यो पनि थियो। होटलका मालिक एकजना अधबैंसे व्यक्ति थिए। हामीप्रति उनी निकै विनम्र र मित्रवत् थिए। चिनियाँ कूटनीतिज्ञहरूलाई स्वागत गर्न पाउँदा आफू धन्य भएको उनी बारम्बार दोहोर्याइरहेका थिए।
बस्ने बन्दोबस्त मिलाएपछि उपराजदूत लिउ नेपालका तत्कालीन विदेश सचिव थापा महोदयसँगको भेटघाटका निम्ति परराष्ट्र मन्त्रालयतिर लागे। त्यहाँ पुगेर उनले चिनियाँ परराष्ट्र मन्त्रालयबाट जारी ओहदाको प्रमाणपत्र बुझाए। भेटका क्रममा परराष्ट्र सचिव थापा र उपराजदूत लिउबीच मित्रवत् र हार्दिक संवाद भयो।
परराष्ट्र सचिवले चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आएको छोटो समयपछि नै चीन सरकारले नेपालमा दूतावास स्थापनाका निम्ति कूटनीतिज्ञ अधिकारीहरू पठाएकोमा खुशी व्यक्त गरे। उनी प्रसन्न थिए र नेपाल सरकारका तर्फबाट उपराजदूत लिउलाई हार्दिक स्वागत गरे। उनले दूतावास स्थापनाका निम्ति चिनियाँ अधिकारीलाई नेपाली पक्षले पूर्ण सहयोग गर्ने वाचा पनि गरे।
ओहदाको प्रमाणपत्र बुझाएपछि उपराजदूत लिउले होटलमै अस्थायी कार्यालय खोल्ने र बाह्य क्षेत्रसँग संवाद गर्ने अधिकार पाए। तेस्रो दिनको एकाबिहानै उपराजदूत लिउले हामी तीनै जनालाई होटलको कौसीको अग्लो ठाउँमा पठाएर काठमाडौंमा पहिलो पटक चिनियाँ राष्ट्रिय झण्डा गौरवका साथ फहराउन लगाए। होटलको छानामा चिनियाँ झण्डा फहराउँदा शुरूमा होटलका मालिकले कुनै आपत्ति जनाएका थिएनन्। खासमा उनी निकै खुशी थिए। तर, एक बिहान अचानक आएर उनले चिनियाँ राष्ट्रिय झण्डा निकाल्न आग्रह गरे।
त्यो साँझ विदेश भ्रमणबाट नेपालको राजपरिवारका एक जना सदस्य स्वदेश फर्किन लागेको र उनको सवारी होटलको दैलो हुँदै जाने थियो। होटलको छानामा विदेशको झण्डा राजपरिवारले देखे राजपरिवारको कोपभाजनमा परिने होटल मालिकलाई ठुलो डर थियो।
उपराजदूत लिउले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय अभ्यास अनुसार अस्थायी कार्यालय नै भए पनि विदेशी दूतावासले आफ्नो देशको झण्डा फहराउन पाउने भनी उनलाई सम्झाउन खोजे। उनले होटल मालिकलाई चिन्ता नगर्न र राजपरिवारले उनीमाथि कुनै बात नलगाउने विश्वास दिलाउन खोजे।
यति कुरा सुनिसकेपछि होटलका साहुले झण्डा निकाल्न कर त गरेनन्। तर, उनको मन भने अझै मानिसकेको थिएन। त्यो साँझ र त्यसको केही दिनपछि पनि राजपरिवारले साहुसँग कुनै प्रश्न गरेन। त्यसपछि मात्र उनले सन्तोषको सास फेरे। हामीलाई भेट्दा उनी आफूले अन्तर्राष्ट्रिय कानून थाहा नपाउँदा बेतुकको आग्रह गरेकोमा क्षमा मागिरहन्थे।
ठाउँको छनोट र थप किनमेल
दूतावास स्थापनाका निम्ति सबभन्दा पहिला गर्नुपर्ने काम भनेको उपयुक्त ठाउँ छनोट थियो। उपराजदूत लिउसँग परिचित एक जना नेपाली मित्रले हामी तीनै जनालाई दूतावास खोल्न उपयुक्त ठाउँ खोज्न केही दिन विभिन्न ठाउँमा लिएर गए। चीनबाट प्राप्त निर्देशन र राजदूतको आग्रह अनुसार कुनै उचित ठाउँमा निकै पुरानो पनि होइन र ज्यादै महँगो भाडा पनि नलिने भवन दूतावास भवनका निम्ति उपयुक्त हुने थियो।
हामीलाई दूतावासका अधिकारी र कर्मचारीहरूको बस्ने कक्ष र कार्यालय दुवै भएको उपयुक्त भवनको खाँचो परेको थियो। बाहिरबाट आउने पाहुनाको सत्कार गर्ने केही कक्ष र शिष्टाचार भेटघाट गर्ने हलका साथै १० जनाभन्दा बढी कर्मचारी काम गर्ने र बस्ने कोठाहरू दूतावास भवनमा हुन जरुरी थियो।
काठमाडौं शहर त्यति ठूलो थिएन। तथापि, भवन खोज्न हामीलाई त्यति सजिलो भएन। अन्ततः चार-पाँच ठाउँ हेरिसकेपछि राजदरबार र सहरको केन्द्रबाट नजिकै एउटा उपयुक्त खालको भवन फेला पार्यौं। खासमा त्यो भवन एक जना सेवानिवृत्त जर्नेल शमशेरको थियो। तीन तलाको सेतो रङ पोतिएको त्यो भवनको अगाडि घाँसे मैदान थियो। त्यसले सालाखाला हाम्रो आवश्यकता पूरा गर्न सक्थ्यो।
उपयुक्त ठाउँ र भवन टुङ्गो लागेपछि अबको अर्को काम भनेको आन्तरिक साजसज्जा गर्ने कोही पोख्त मान्छेको खोजी गर्नु थियो। बजारमा गएर कार्यालय र आवासका निम्ति आवश्यक फर्निचर, भान्साका मालताल आदि किन्नु थियो।
त्यही क्रममा उपराजदूत र भाषानुवादक नेपाल सरकारका अधिकारी र अन्य मित्रहरूसँग भेटघाटमा व्यस्त भए। भवनको साजसज्जा र बजारबाट आवश्यक सरसामान खरीद गर्ने जिम्मेवारी मेरो थियो।
भवनको जीर्णोद्धार काम २० दिन (अथवा केही थप दिन) भित्र पूरा गर्नु थियो। सत्कार कक्षा, शिष्टाचार हल रससाना अन्य कक्षको जीर्णोद्धारका काममा ज्यान दिएर लाग्नु थियो। काठका फर्निचर किन्न म काठमाडौंका सबैजसो फर्निचर पसलहरू धाएँ। तर, कुनै पनि फर्निचर पसलमा तयारी काठका कुर्सी र अन्य फर्निचर पाइनँ। हामीलाई
धेरै सङ्ख्यामा फर्निचर खरीद गर्नु थियो। त्यसकारण फर्निचर बनाउन दिने बाहेक हामीसँग अर्को विकल्प भएन।
भवनको आन्तरिक साजसज्जाको काम पूरा भएपछि फर्निचर पनि तयार भयो। एकपछि अर्को गर्दै दूतावासमा फर्निचर भित्रियो। त्यतिन्जेल हङकङमा किनेका फर्निचर र कारलाई पनि काठमाडौंमा ल्याइपुर्याइयो। हतार हतारमा म नेपालको भन्सार कार्यालयमा गएर भन्सारका आवश्यक प्रक्रिया पूरा गरें। भन्सारका कर्मचारीहरूले मप्रति हार्दिक व्यवहार गरे।
आवश्यक प्रक्रिया चाँडै सकाएर उनीहरूले मप्रति गरेको हार्दिक व्यवहारले चिनियाँ दूतावास स्थापनामा ती नेपाली कर्मचारीले ठूलो मद्दत गरेको मैले अनुभव गरें। यस प्रकार दूतावास स्थापनाको काम आधारभूत रूपमा सम्पन्न भयो। दूतावासको औपचारिक स्थापनाका निम्ति भने हामीले राजदूतको बाटो कुर्यौं।
राजदूतलाई काठमाडौंमा न्यानो स्वागत
त्यही वर्षको जुलाई महीनाको अन्त्यतिर राजदूत चाङ शिचेई दूतावासका केही कर्मचारीहरूसँगै नेपाल आइपुगे। नेपालको परराष्ट्र मन्त्रालयको शिष्टाचार महापाल लगायत अधिकारीहरू, दूतावास खोल्नुअघि नै आएका हामीहरू र दूतावास स्थापनामा मद्दत गरेका सबै जना विमानस्थल पुगेर राजदूतको स्वागत गर्यौं। मित्रवत् व्यवहार प्रदर्शन गर्दै नेपालका अधिकारीहरूले राजदूत र सँगै आएका कर्मचारीलाई विशेष कारमा राखेर शीतल निवास लिएर गए। त्यहाँ चिनियाँ कूटनीतिज्ञको न्यानो स्वागत भयो। कोरोनेशन होटेलबाट हामी तीन जना पनि शीतल निवासतिर लाग्यौं।
शीतल निवास विशिष्ट विदेशी पाहुनाको स्वागत गर्न नेपाल सरकारले विशेष रूपमा बनाएको दरबार जस्तो होटल थियो। त्यहाँ दुईतले भवनले घेरिएका ठूलठूला चोक छन्। चोकमा विशाल बगैंचा र फोहोरा छ। त्यहाँको वातावरण सुन्दर र शान्त हुन्छ। गर्मी याममा त्यहाँ बस्दा शीतल र स्वच्छ अनुभव हुने भएकाले त्यसको नाम नै शीतल निवास हुन गएको हो।
राजदूत चाङ र अरू चिनियाँ अधिकारी शीतल निवासमा बसेको तेस्रो दिन नेपाल सरकारले राजा महेन्द्र समक्ष ओहदाको प्रमाणपत्र बुझाउने बन्दोबस्त मिलायो। त्यो बिहान नेपालको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत चाङलाई लिन शीतल निवास आए। राजदूत र शिष्टाचार महापाल एउटा भव्य खुला बग्गीमा बसे।
बग्गीको अगाडि बाटो खाली गर्ने घोडचढीहरू थिए। शहर छिचोलिसकेपछि राजा समक्ष ओहदाको प्रमाणपत्र बुझाउन उनीहरू हनुमानढोका दरबारमा गए। उपराजदूत लिउ यमिन र भाषानुवादक नेपाल सरकारको गाडीमा थिए। उनीहरू पनि राजदूतकै पछि लागे। बाटोमा धेरै नेपाली नागरिकले उभिएर राजदूतको सवारी हेरेका थिए।
ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूतले औपचारिक रूपमा पदभार ग्रहण गरे। नेपालले संसारका धेरै देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो। तर, अरू देशले नेपालमा सबै राजदूत मात्र नियुक्त गरेका थिए। उनीहरूको नेपालमा स्थायी दूतावास थिएन। त्यही भएर नेपालमा त्यतिन्जेल बेलायत, अमेरिका र भारत गरी तीन देशका मात्र स्थायी दूतावास थिए। स्थायी दूतावास खोल्ने हामी चौथौ देश बन्यौं।
अर्को दिन राजदूत चाङ सबै कर्मचारी सहित चिनियाँ दूतावासको नयाँ भवनमा प्रवेश गरे। दोस्रो दिनको एकाबिहानै राजदूतले सबै कूटनीतिक अधिकारी र कर्मचारी समक्ष दूतावास भवनअघिको चिनियाँ राष्ट्रिय झण्डोत्तोलन गरे। यस प्रकार औपचारिक रूपमा नेपालमा चिनियाँ दूतावास स्थापना भयो।
पाहुनाले भरिभराउ पहिलो रात्रिभोज
दूतावास स्थापना भएको केही दिनपछि अगस्ट १ मा सेना दिवसको अवसर पारेर राजदूत चाङ र सैनिक सहचरी कान मेईले दूतावास स्थापनापछिको पहिलो रात्रिभोज आयोजना गरे। रात्रिभोजमा झण्डै एक सय जना पाहुना सहभागी थिए। नेपालका विदेश सचिव, शिष्टाचार महापाल, नेपाल सेनाका प्रधानसेनापति, राजाका अङ्गरक्षक, नेपाल-चीन मैत्री संघका अध्यक्ष, सदस्यहरू र नेपाली समाज, शिक्षाका गण्यमान्य व्यक्तित्व र व्यापारीहरू रात्रिभोजमा सहभागी थिए।
त्यसै बेलायत र भारतका सैनिक सहचरीलगायतले पनि त्यो दिनको समारोहमा भाग लिएका थिए। पाहुना सत्कार कक्ष भरिभराउ थियो। सेना दिवस (अगस्ट १) तथा दूतावास स्थापनाको मैत्रीपूर्ण र न्यानो वातावरणमा आयोजक र पाहुना सबैले गिलास उठाएर खुशियाली साटेका थिए।
दूतावासका भान्छे क्यान्टोनियाली थिए। उनी ‘दिम सम’ बनाउनमा पोख्त थिए। त्यो साँझ सबै परिकारका ‘दिम सम’, विशेषतः पाओची (नेपालीमा मःमचा) र माओताई रक्सी रात्रिभोजका पाहुनाले निकै रुचाए। त्यो समारोहपश्चात् काठमाडौंमा चिनियाँ माओताई र मःमचा निकै लोकप्रिय बनेको थियो। धेरै नेपालीले यी दुई थरी चिनियाँ पेय र परिकारबारे त्यसपछि मात्र थाहा पाए।
दूतावास स्थापना भएको केही सातामै अरू केही महत्त्वपूर्ण कूटनीतिक कार्यक्रम आयोजना गरियो। राजकुमार हिमालय, प्रधानमन्त्री कोइराला र नेपाल-चीन मैत्री संघका सभापतिको सम्मानमा रात्रिभोजको आयोजना गरियो। शुरूआतका ती दिनमा हामी सबै निकै व्यस्त थियौं। तर, हामी सबैको मनमा नेपाली जनतालाई चिनियाँ जनताको मैत्रीपूर्ण भावना देखाउने दृढ सङ्कल्प थियो। नेपाल सरकार र जनताको मनमस्तिष्कमा चिनियाँ दूतावास र कूटनीतिज्ञहरूप्रति राम्रा प्रभाव बसाउनु नै हाम्रो लक्ष्य थियो।
(चेङकाङ नेपालका लागि चिनियाँ दूतावासका प्रथम सचिव हुन्। उनकाे याे संस्मरणबाट चिनियाँ भाषाबाट अंग्रेजीमा दि अरनिकाे प्राेजेक्ट का लागि अनेका रेबेका राजभण्डारी र रौनब सिंह खत्रीले र नेपालीमा नीरज लवजूले अनुवाद गरेका हुन्।)