विमानस्थलको हवाई इन्धन डिपोमा उपमेयरले लगाइन् ताला
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको हवाई इन्धन डिपोमा उपमेयर स्यानी चौधरीले ताला लगाएकी छन्।
तुलसीपुर उपमहानगरकी उपमेयर चौधरी सहितको जनप्रतिनिधि र व्यवसायीको टोलीले आइतबार विमानस्थलमा रहेको इन्धन डिपोमा ताला लगाएकी हुन्। दुई महीनाअघि ल्याइएको बाउजर अन्तै लग्ने भएपछि ताला लगाएको उनले बताइन्।
टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण भएपछि गत जेठमा बाउजर ल्याइएको थियो। अहिले त्यो बाउजर अन्यत्र लग्ने तयारी गरिएपछि ताला लगाउनुपरेको उपमेयर चौधरीले बताइन्।
“टरिगाउँ विमानस्थलका लागि ल्याइएको बाउजर अन्यत्र लैजान पाइँदैन,” उनले भनिन्, “बलजफ्ती अन्यत्र लगेमा कडा प्रतिवाद गर्छौं।”
त्यस्तै, तुलसीपुरका उद्योगी व्यवसायीले पनि विरोध जनाएका छन्। तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय, तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर बाउजर अन्यत्र नलग्न आग्रह गरेको छ।
कार्यालय प्रमुख श्रेष्ठले टरिगाउँको बाउजर अन्यत्र पठाएर अर्को बाउजर ल्याउन लागिएको बताए। “टरिगाउँ विमानस्थलमा रहेको बाउजर ११ हजार लिटर इन्धन अट्ने छ। योभन्दा बढी क्षमता भएको १६ हजार लिटर इन्धन अट्ने ट्याङकर आउनेछ,” उनले भने। तर, नयाँ बाउजर मर्मत गरेर ल्याउनुपर्ने भएकाले कहिले आउने भन्ने यकिन नभएको उनको कथन छ।
२०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल लामो समयपछि सञ्चालनमा आएको छ। अहिले साताको तीन दिन बुधबार, बिहीबार र शुक्रबार उडान हुँदै आएको छ।