फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल
साफ यू-२० च्याम्पियनशिपको फाइनल प्रवेशका लागि आज नेपाली युवा टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको छ।
भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा नेपालले तेस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र भारतको खेल आज साँझ ७ बजे हुनेछ।
यसअघि नेपालले दुई खेलमा जित हासिल गर्दै ६ अङ्क बटुलेको छ। नेपाल अङ्कतालिकाको दोस्रो स्थानमा छ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो।
भारतले दुई खेलमा एक जित र एक हार बेहोर्दै तीन अङ्क जोडेको छ। बाङ्लादेश तीनै खेल जित्दै नौ अङ्क सहित शीर्षस्थानमा छ।
पाँच टोली रहेको प्रतियोगितामा माल्दिभ्स र श्रीलंकाले जित हासिल गर्न सकेका छैनन्। आज नेपालले जितेमा नौ अङ्क सहित फाइनलमा प्रवेश गर्नेछ।
अङ्कतालिकाको शीर्षस्थानमा रहेका दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणको अन्तिम खेल बाङ्लादेशसँग मंगलबार खेल्नेछ।