चिनियाँ प्रथम महिलासँगको त्यो अविश्वसनीय भेट
–उर्मिला काेजू
विदेशी विद्यार्थीले लेखेको एउटा निमन्त्रणा पत्रको भरमा हामीसँग भेट्न राजी हुने चिनियाँ प्रथम महिला फङ लियुआनसँगको भेटले महिला सशक्तीकरणका लागि देशमै केही गर्ने गजबको प्रेरणा दिएको छ ।
खुशी, प्रशंसा र विश्वास–त्यतिबेला हामीलाई एकसाथ त्यस्तै महशुस भयो । सर्वसाधारण नागरिकको एक चिठीको अनुरोध देशका उपल्लो व्यक्तित्वले हुबहु गरिदिंदाको महशुस हो यो ।
प्रसंग एउटा चिया पसलबाट शुरु हुन्छ । ५ फेब्रुअरी २०१९, चिनियाँ नयाँवर्षको स्वागत भव्य रूपमा मनाउने भनी एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका महादेशका विभिन्न राष्ट्रबाट चिनियाँ महिला विश्वविद्यालय पढ्न आएका हामी ५२ विद्यार्थी गफमा रम्दै थियौं ।
म आएको त भर्खरै आठ महीना भएको थियो । तर, हामीभन्दा अग्रज विद्यार्थीको अनुहारमा भने केही उदासी देखिन्थ्यो । किनभने चिनियाँ नयाँ वर्षसँगै उनीहरूको अध्ययन समय सकिँदै थियो र आ–आफ्नो देश फर्कदैं थिए । घर फर्किनेको खुशीसँगै चीन छोड्नुपर्ने सत्यले मन खिन्न भएको उनीहरूको भनाइ थियो ।
कुरैकुरामा, अग्रज विद्यार्थीहरूले अप्रत्याशित प्रस्ताव राखे– यो वर्षको दीक्षान्त समारोह चीनकी मुख्य महिला अभियन्ता, समाजसेवी र महिला अधिकारवादीको उपस्थितिमा सम्पन्न गराउन पहल गर्ने । छलफलकै क्रममा चीनकी प्रथम महिला फङ लियुआनको नाम आयो । तर, के प्रथम महिलाले विद्यार्थीको सामान्य प्रस्तावमा दीक्षान्त समारोहमा सहजै उपस्थिति जनाउलिन् ?
हाम्रा शिक्षकहरूका लागि समेत यो कुरा असम्भव झैं थियो । तर, हामीले हिम्मत हारेनौं ।
‘महिला नेतृत्व र समाजिक विकास’ विषयमा अध्ययनरत् हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तर्फबाट चीनका राष्ट्रपति सी जिनपिङ र प्रथम महिला फङ लियुआनलाई नयाँ वर्षको शुभकामना दिँदै सामूहिक चिठी लेख्यौं । यो चिठी अखिल चीन महिला संघलाई पनि दिने निधो गर्यौं । एउटै ढाँचा र उही विषयका छुट्टाछुट्टै चिठी, जसमा हाम्रो अप्रत्याशित इच्छा र चाहना व्यक्त थियो ।
हामीले चिठीहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा बुझायौं ।
विश्वविद्यालयको लामो यात्रा
यो वर्ष हाम्रो विश्वविद्यालयको मात्र नभई अखिल चीन महिला संघका साथै जनगणतान्त्रिक चीनको समेत ७० औं जन्मोत्सव भएका कारण विश्वविद्यालयबाट विभिन्न गतिविधि र कार्यक्रम आयोजना गरिएको थियो ।
अखिल चीन महिला संघ र विश्वविद्यालयको इतिहास अन्योन्याश्रित छ । विश्वविद्यालयको पृष्ठभूमिमा सन् यात्सेनकी पत्नी सुनचिङ लिङ, ह सियाङ निङ, छाइ छाङ लगायत नेतृहरूको अहम भूमिका थियो । सन् १९४९ मा नयाँ चीनको स्थापना भयो । र, पहिलेको महिला कार्यकर्ता तालिम केन्द्र १९८४ मा महिला प्रशासनिक केन्द्रका रूपमा विकास गरियो ।
त्यसैलाई १९८७ मा चिनियाँ महिला प्रशासनिक कलेजको रुप दिइयो । १९९५ अहिलेको चिनियाँ महिला विश्वविद्यालय स्थापना गरियो । १९९५ मा बेइजिङमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनलाई विश्वविद्यालय स्थापनाको अर्को महत्वपूर्ण कारण मान्न सकिन्छ ।
हाम्रो विश्वविद्यालय महिला विश्वविद्यालय भएको र मुलुकको जन्मोत्सव पनि भएकाले अखिल चीन महिला संघले हामीलाई सक्दो सहयोग गरिरहेको थियो । विश्वविद्यालय अहिले पनि संघकै सम्बन्धनमा चलिरहेको छ ।
शैक्षिक भ्रमणकै क्रममा हामीले आर्थिक रुपमा विकसित चच्याङ र क्वान्टोङ प्रदेश पुग्ने अवसर पायौं। त्यहाँ महिलाहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा निकै अग्रसर देख्यौं । चीनलाई नजिकबाट चिन्ने र बुझ्ने मौका पायौं । यसबाट नेपालले पनि धेरै कुरा सिक्नु पर्ने मैले महशुस गरें ।
अनेक कार्यक्रमहरूसँगै हामीले ८ मार्चको अन्तर्राष्ट्रिय महिला दिवस ग्रेट हल अफ पिपलमा हर्षोल्लासका साथ मनायौं । नृत्य समेत प्रस्तुत गयौं । कार्यक्रममा बइेजिङमा रहेका विभिन्न देशका राजदूतको समेत उपस्थिति थियो ।
ग्रीष्म ऋतुको आगमनसँगै पढाइको व्यस्तता बढ्यो । यसैबीच एकदिन विश्वविद्यालयका डीनले मलाई अखिल चीन महिला संघका पदाअधिकारीहरू हाम्रो चीन बसाइँको अनुभव बुझ्न आउन लागेको र त्यस कार्यक्रमका लागि म सहित मौरिसस, लेसुथो, गाम्बिया र तान्जानियाका विद्यार्थीले आफ्नो अनुभव सुनाउन प्रस्ताव गरे । एकसातापछि महिला संघका पदाधिकारीहरू आए, हामीले आफ्ना अनुभव बतायौं ।
तर, यहीबेला पदाधिकारीहरू हामीलाई भेट्न आउनुको कारण रहेछ– नयाँ वर्षमा लेखेको त्यही चिठी । बल्ल हामीलाई प्रथम महिलासँगको भेटको आशा पलायो ।
फङ लियुआन प्रभाव
३० मेमा हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरू ग्रेटहलमा लगियौं । चिनियाँ उपशिक्षामन्त्री र उपविदेशमन्त्रीका साथ फङ लियुआनको आगमन भयो । उनले शालीन उपस्थितिसँगै आत्मीय रुपले सबै विद्यार्थीहरूसँग हात मिलाउँदा अति सरल अनुभूत गर्यौं ।
हाम्रो चिठी आफू र राष्ट्रपति सीले पनि पढेको उनले बताइन् ।
यसअवसरमा उनले चीनले लैंगिक समानता, महिला नेतृत्व र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर नै अन्तर्राष्ट्रिय महिला विद्यार्थीहरूका लागि स्नातकोत्तर अध्ययनको व्यवस्था गरेको बताइन् ।
उनले हामीसँग आफ्नो अपेक्षा पनि राखिन कि, हामी देश फर्केर लैंगिक समानता र महिला सशक्तीकरणकै क्षेत्रमा योगदान पुर्याऔं ताकि पूरै संसार नै महिलाका लागि बाँच्न उपयुक्त स्थान होस् ।
आफ्नो विचार राख्ने क्रममा मैले नेपाल नै फर्केर आफ्नो ज्ञान र क्षमतालाई अधिकतम् उपयोग गर्ने मनसाय राख्दा उनले ‘थम्स अप’ गरिन् । म औधी खुशी भएँ । उनको सरल, सामान्य व्यवहारले मनमा एक उँचो व्यक्तित्वको छाप बस्यो ।
“क्षितिजमा सूर्य झुक्दछ । अविरल खोला समुद्र खोज्छ । तिमी यी महान दृश्य तब देख्ने छौ । जब तिमी उचाइमा पुग्ने छौ ।”
लाग्छ, चिनियाँ थाङ वंशका साहित्यकार वाङ चिह्वानद्वारा रचित यो कविता जस्तै चीनका महिलाहरू पनि यो उचाइँ प्राप्त गर्न तल्लिन छन्, जसको अंश हामी अन्तर्राष्ट्रिय विद्यार्थी पनि बनिरहेका छौं ।
प्रथम महिला फङ लियुआनको सोच, सक्रियता र हौसलाले यही प्रतिबिम्बित गर्छ ।