परराष्ट्र मन्त्रीले भने- पत्र पठाएँ भनिसकेपछि पत्याउनुस् न!
परराष्ट्र मन्त्री नारायण खड्काले एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्रको विषयमा विश्वास गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको साउन १३ गतेको बैठकमा मन्त्री खड्काले साउन ९ गते नै अमेरिकालाई पत्राचार गरेको बताएका थिए। सांसदहरूले पत्र सार्वजनिक गर्न माग गरेपछि खड्काले सरकारले भनिसकेपछि पत्याउन आग्रह गरेका हुन्।
“सार्वभौमसत्ता सम्पन्न कार्यपालिकाको सर्वोच्च निकाय मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आशङ्का र संशय व्यक्त गरिरहेका छौं। निर्वाचित सरकारले गरेको निर्णयहरूमा पनि आशङ्का व्यक्त गर्दै गयौं भने राज्य सञ्चालनमा सघाउ पुग्दैन। आपसमा विश्वासको वातावरण बनाउनै पर्दछ,” खड्काले भने, “सरकारको पक्षबाट म आएर बोलिसकेपछि पत्याउनुस् न!”