‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन’
नेपाल कुनै पनि सैन्य तथा सामरिक गठबन्धनमा सहभागी नहुने परराष्ट्र मन्त्री नारायण खड्काले बताएका छन्।
प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै परराष्ट्र मन्त्री खड्काले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका हुन्। “कुनै पनि देशसँग सामरिक गठबन्धन, सैन्य गठबन्धन नेपालको हितमा हुँदैन,” परराष्ट्र मन्त्री खड्काले भने, “त्यसैले नेपाल कुनै पनि सैन्य, सामरिक सुरक्षाका गठबन्धनमा सहभागी हुँदैन, सहभागी नहुने सरकारका तर्फबाट प्रतिबद्धता गर्दछु।”
सांसदहरूले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका थिए। त्यसको जवाफ दिंदै परराष्ट्र मन्त्री खड्काले सरकारको निर्णयलाई विश्वास गर्न आग्रह गरे।
“मन्त्रिपरिषद्को निर्णयमा संशय, आशङ्का गरिरहेका छौं। सरकारका निर्णयबारे पनि आशङ्का गर्दै गयौं भने राज्य सञ्चालनमा सघाउ पुर्याउँदैन,” खड्काले भने, “कतिपय ‘डकुमेन्ट’ केही समय राखिन्छन् र पछि सार्वजनिक गरिन्छन्। तैपनि, यो त्यति ‘सेन्सेटिभ डकुमेन्ट’ त होइन। सरकारलाई विश्वास गर्न आग्रह गर्दछु।”
त्यस्तै, सांसदहरू अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको नेपालका भ्रमणका विषयमा पनि प्रश्न गरेका थिए। त्यसको जवाफ दिंदै मन्त्री खड्काले भने, “आज अमेरिकी सहायक विदेशमन्त्री लुसँग भेट्न गर्ने कार्यक्रम छ, त्यसमा एसपीपी, आईपीएस आदि इत्यादिका कुरा हुँदैनन्।”