नेपालमा बाघकाे सङ्ख्या ३५५ पुग्यो
अन्तर्राष्ट्रिय बाघ दिवसको उपलक्ष्यमा राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा बाघको सङ्ख्या २२५ बाट बढेर ३५५ पुगेको घोषणा गरिएको हो।
अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो राष्ट्रिय बाघ गणनाको नतीजा सार्वजनिक गर्दै बाघको सङ्ख्या ३५५ पुगेको सार्वजनिक गरेका हुन्।
योे घोषणासँगै नेपाल बाघको सङ्ख्या दोब्बर बनाउने पहिलो देश बनेको हो। नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा २५० वटा बाघ पुर्याउने लक्ष्य राखेको थियो।
नयाँ तथ्याङ्क अनुसार, नेपालको चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन्।
यसअघि नेपालमा सन् २०१८ मा गरिएको गणनामा २३५ वटा पाटे बाघ भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो। जस अनुसार, चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए।
नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थान सुधार लगायत अन्य विविध विषय चुनौती बनेका छन्। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष महेश्वर ढकालले बाघको सङ्ख्या बढेसँगै संरक्षणका नयाँ पाटा अवलम्बन गर्नुपर्ने टिप्पणी गरेका छन्।
“बाघको सङ्ख्या बढेसँगै अब दायित्व पनि थपिएको छ। बाघको सङ्ख्या बढ्यो भनेर ढुक्क भएर बस्ने अवस्था छैन। हिजो बाघको सङ्ख्या दोब्बर बनाउन जुन चुनौती महसूस गरिएको थियो,” उनको टिप्पणी छ, “अहिले बढेको बाघको सङ्ख्यालाई व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती थपिएको छ। अब आउँदा दिनमा बाघ संरक्षणको परीक्षामा नेपाल झन् खरो उत्रिनुपर्ने भएको छ।”
गत मंसीर १९ गते शुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो। नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बाङ्लादेश, भियतनाम, म्यानमार, मलेशिया, इन्डोनेशिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन्।