एसपीपीमा सहभागी नहुने पत्र पठाइसक्यौं: परराष्ट्र मन्त्री
परराष्ट्र मन्त्री नारायण खड्काले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने जवाफ अमेरिकालाई पठाइसकेको बताएका छन्।
प्रतिनिधि सभाको साउन १३ गतेको बैठकमा मन्त्री खड्काले पत्राचार गरिसकेको जानकारी दिएका हुन्। खड्काका अनुसार, साउन ९ गते अमेरिकालाई कूटनीतिक माध्यमबाट पत्राचार गरिएको हो। असार ६ गते बसेको मन्त्रिपरिषद्ले एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो।
त्यसपछि सांसदहरूले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) एसपीपीमा सहभागी नहुने भनेर सरकारले अमेरिकालाई पठाएको पत्रको व्यहोरा सार्वजनिक गर्न माग गरे।
सांसदहरू भीमबहादुर रावल, शिवमाया तुम्बाहाङ्फे, पवित्रा खरेल निरौला, नारायणप्रसाद खतिवडा, घनश्याम खतिवडा लगायत २० सांसदले पत्र सार्वजनिक गर्न माग गरेका थिए।
त्यस्तै, सांसद दिव्यमणि राजभण्डारीले एसपीपी अन्तर्गत अमेरिकाबाट नेपालले के के सहयोग प्राप्त गर्यो र के के निर्णय भए, खुलाउन माग गरेका छन्।
सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै परारष्ट्र मन्त्री खड्काले सरकारको निर्णयमा विश्वास गर्न आग्रह गरे। “मन्त्रिपरिषद्को निर्णयमा संशय, आशङ्का गरिरहेका छौं। सरकारका निर्णयबारे पनि आशङ्का गर्दै गयौं भने राज्य सञ्चालनमा सघाउ पुर्याउँदैन,” खड्काले भने, “कतिपय ‘डकुमेन्ट’ केही समय राखिन्छन् र पछि सार्वजनिक गरिन्छन्। तैपनि, यो त्यति ‘सेन्सेटिभ डकुमेन्ट’ त होइन। सरकारलाई विश्वास गर्न आग्रह गर्दछु।”
उनले नेपाल कुनै पनि सैन्य तथा सामरिक गठबन्धनमा सहभागी नहुने प्रतिबद्धता जनाए। “कुनै पनि देशसँग सामरिक गठबन्धन, सैन्य गठबन्धन नेपालको हितमा हुँदैन,” परराष्ट्र मन्त्री खड्काले भने, “त्यसैले नेपाल कुनै पनि सैन्य, सामरिक सुरक्षाका गठबन्धनमा सहभागी हुँदैन, सहभागी नहुने सरकारका तर्फबाट प्रतिबद्धता गर्दछु।”