सात महीनामै दोस्रो पटक नेपाल आए अमेरिकी सहायक विदेशमन्त्री लु
दक्षिण तथा मध्यएशियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्।
उनी तीनदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका हुन्। नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सहायक विदेश मन्त्री लु यस क्षेत्रको नियमित भ्रमणका क्रममा नेपाल आएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। भ्रमणका क्रममा लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ।

उनी यसअघि गत मंसीरमा नेपाल आएका थिए। सात महीनामै फेरि नेपाल भ्रमणमा आएका हुन्।
अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लाई नेपालले अघि नबढाउने निर्णय गरेको एक महीनापछि उनको भ्रमण भएको छ। उनको यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।