शेयर बजारमा झण्डै पाँच अर्बको कारोबार
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सुधार हुँदै आएको शेयर बजारमा आज झण्डै पाँच अर्बको कारोबार भएको छ।
बिहीबार शेयर बजार परिसूचक नेप्से १५.४९ अङ्कले बढेर दुई हजार १२७.४७ बिन्दुमा पुगेको छ। यो बुधबारको तुलनामा ०.७३ प्रतिशतले बढी हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७० अङ्कले बढेर ४०५.६२ पुगेको छ।
आज २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँमा कारोबार भयो। यो केही महीनायताकै उच्च हो।
बिहीबार १० वटा उपसमूहका शेयरधनीले नाफा कमाए भने तीन वटा उपसमूहका शेयरधनीले नोक्सानी बेहोर्नुपर्यो।