तस्वीरमा राजा त्रिभुवन र महेन्द्रका गाडी
राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका गाडी सर्वसाधारणको अवलोकनका लागि नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको छ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले राजा त्रिभुवन र महेन्द्रले चढेका गाडी सर्वसाधारणको अवलोकनका लागि खुला गरेको हो। राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन वटा गाडी अवलोकनका लागि राखिएको सङ्ग्रहालयका सूचना अधिकृत बुद्धिबहादुर गुरुङले बताए।
उनका अनुसार, राजा त्रिभुवनले प्रयोग गरेको काठको क्यारियर भएको पिकअप ट्रक अवलोकनका लागि राखिएको छ। यो ट्रक शिकारका क्रममा प्रयोग हुने गरेको थियो।
त्यस्तै, राजा त्रिभुवनले नै प्रयोग गर्ने बा.अ २ नम्बरको कार पनि अवलोकनका लागि राखिएको हो। यससँगै राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि अवलोकन गर्न पाइने भएको छ।
यी तीन गाडीसँगै राजपरिवारले प्रयोग गरेका अन्य गाडी पनि अवलोकन गर्न सकिन्छ। जुन यसअघि नै अवलोकनका लागि राखिएका थिए।