नबिलको सामाजिक उद्यमशीलताका लागि आवेदन खुला
नबिल ब्यांकले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कूल अफ सोसल इन्टरप्रेनरशिप इन्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने ब्यांकले जनाएको छ।
कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्षसम्मका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न यो कार्यक्रम ६ महीनासम्म चल्ने ब्यांकले जनाएको छ।
यो कार्यक्रम हरेक महीना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ। तालीम अवधिभर तथा बाँकी ६ महीना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ। भदौ २० गतेसम्म आवेदन दिन सकिनेछ।