जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गर्छौं: उद्योग मन्त्री
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुरस्थित जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गरिने बताएका छन्।
बुधबार जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग लगायत मुलुकमा रहेका रुग्ण उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गरिने बताए। मुलुकको व्यापार घाटा कम गर्न पनि निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न उद्योग सञ्चालन गर्नुपर्ने बताए।
सरकारले रुग्ण उद्योग सञ्चालन गर्ने नीति लिएपछि आफूले स्थलगत अवलोकन गरेको उनको भनाइ थियो। “उद्योग के कस्तो अवस्थामा रहेको छ र कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सबैसँग छलफल गर्छौं,” मन्त्री बडूले भने, “आवश्यक तयारी गरेर उद्योग सञ्चालन गर्छौं।”
राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य अनुरूप जनकपुर चुरोट कारखानालाई सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए।
यसका लागि बजेट विनियोजन गरिएको बताउँदै मन्त्री बडूले भने, “जनकपुर चुरोट कारखानाका कति मशिनको उपयोग गर्न सकिन्छ, नेपाल सरकारले आफैं चलाउने कि निजी क्षेत्रसँग मिलेर चलाउने लगायतका विषयमा छलफल गरेर निर्णय गर्नेछौं।”