काठमाडौंको फोहोर भोलिदेखि उठाइने
काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि व्यवस्थापन हुने भएको छ। महानगरले सूचना जारी गरी एक सातादेखि रोकिएको फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका छन्। पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ‚ “मिति २०७९/०४/१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंहरूको पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म पुर्याई सुरक्षित रूपमा घरभित्र राखिएका फोहोरमैला सङ्कलन गर्ने कार्यमा सहयोग पुर्याइदिन हुन विनम्रताका साथ अनुरोध छ।”
फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि काठमाडौं महानगर सहित उपत्यकाका १८ स्थानीय तहको फोहोर सङ्कलन रोकिएको थियो।