काठमाडौं उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्छौंः उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र मात्रै होइन, पूरै उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्ने अजेन्डा रहेको बताएकी छन्।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलसँग साउन १० गते भएको भेटमा डंगोलले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल गरेकी हुन्।
छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगरभित्र यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको स्मरण गरिन्। उनले यसअघि पनि महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरेको स्मरण गराउँदै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरूसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरीकाले अघि बढ्नुपर्नेमा जोड दिइन्।
अध्यक्ष दीक्षितले देशैभरि खास गरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरू लागिरहेको बताए। उनले २०७६ असारमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकै पटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको उल्लेख गरेका थिए। प्याकुरेलले उपमेयर डंगोललाई सार्वजनिक यातायातबारे राम्रो जानकारी रहेको बताए।