नेताको नाम लेखेको भन्दै नयाँ एम्बुलेन्स थन्क्याएर अर्को किन्ने योजना
डोटीको जोरायल गाउँपालिले नेताको नाम लेखेको भन्दै नयाँ एम्बुलेन्स थन्क्याएर अर्को किन्ने योजना बनाएको छ ।
आमा फाउण्डेसनले हस्तान्तरण गरेको एम्बुलेन्समा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नाम लेखेको भन्दै गाउँपालिकाले एम्बुलेन्स थन्क्याएर राखेको हो ।
फाउण्डेसनले सात महीनाअघि सहयोग जुटाएर दुईवटा एम्बुलेन्स खरिद गरी बडिकेदार र जोरायल गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
सहयोग जुटाउने कार्यमा नेता विष्टको सहयोग रहेको भन्दै एम्बुलेन्समा उनको नाम लेखिएको छ।
गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले नेता विष्टले विना कारण आफ्नो नाम उल्लेख गरेकोले नै एम्बुलेन्स चलाउन नदिएको बताए ।
“गाउँपालिका कै पहलमा आमा फाउण्डेशनले एम्बुलेन्स खरिद गरे पनि काङ्ग्रेस नेताको नाम उल्लेख गरिएकाले एम्बुलेन्स नचलाउन भनेका हौँ, नाम हटाए चलाउछौँ,” उनले भने ।
आगामी आर्थिक वर्षमा गाउँपालिकाले नै बजेट विनियोजन गरेर नयाँ एम्बुलेन्स खरिद गर्ने उनको भनाई छ ।
स्थानीयवासी प्रकाश मल्लले एम्बुलेन्स थन्क्याएर जनताको सुविधामा राजनीति गरेको आरोप लगाए ।
“काङ्ग्रेसको नाम लेखियो भनेर एम्बुलेन्स थन्काइएको छ, जनतालाई दिएको सुविधामा राजनीति किन ?” उनले भने ।