तीनखुट्टे राक्षसको स्वरूप बनाएर मनाइयो गठेमङ्गल (तस्वीरहरू)
हरेक श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल काठमाडौं उपत्यकामा मनाइएको छ।
यो पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहान हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याउने गरिन्छ।
संस्कतिविद् तेजेश्वरबाबु ग्वँगले दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमङ्गल बेलुकी भने खेतमा लगेर बाल्दा धानमा कीरा लगायत रोग नलाग्ने विश्वास रहेको बताउँछन्। बिहानै स्नान, पूजापाठ गरी घर, आँगन सफा गरिने, केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक जलाउने गरिन्छ।
गोपालवंशावली अनुसार, गठेमङ्गललाई सत्व, रज, तमोगुण मानेर भैरवका प्रतीकका रूपमा लिइन्छ। यसलाई नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीका तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरको भित्री भागमा चलनमा छ। आज विभिन्न धातुबाट बनेका औंठी किनेर लगाए नकारात्मक तत्त्वबाट शरीरलाई रक्षा गर्ने विश्वास समेत छ।-रासस