मदिरा आयात रोकिंदा व्यवसाय प्रभावित भएको गुनासो
सरकारले विदेशी मदिरा आयातमा रोक लगाउँदा पर्यटन व्यवसाय र उद्योगमा असर परेको नेपाल मदिरा पैठारी संघले जनाएको छ।
सरकारले गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चिति घट्न थालेको भन्दै मदिरा लगायत अन्य १० आयात वस्तुमा प्रतिबन्ध लगाएको थियो। यो निर्णय तत्काल फिर्ता नगरिए प्रतिकूल प्रभाव पर्ने संघले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाखदेखि भदौ १४ गतेसम्म मदिरा आयातमा प्रतिबन्ध लगाएको छ। संघका अध्यक्ष अनिल अग्रवाल होटल, रेस्टुरेन्ट र बारहरूले ठूलो आय आर्जनको अवसर गुमाउन लागेको बताउँछन्।
आयात रोक्दा बजारमा नक्कली मदिरा देखिन थालेको, बेरोजगारी बढेको र पर्यटनमा नकारात्मक असर पारेको अग्रवालको भनाइ छ।
उच्च भन्सार शुल्क र अन्तःशुल्कका कारण भारतको उत्तर प्रदेश र पश्चिम बंगाल हुँदै सीमापारिबाट लोकप्रिय ब्रान्डहरू तस्करी हुन थालेको अग्रवाल बताउँछन्।
भन्सार विभागका अनुसार, गत आर्थिक वर्षमा रु.तीन अर्ब ८८ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको थियो।
मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा पालिकाहरूले लोकरिझ्याइँका लागि मदिरामा प्रतिबन्ध लगाएको बताउँछन्। मदिरामा प्रतिबन्ध लगाउँदा व्यवसायीमा के असर गर्छ भन्नेतर्फ उनीहरूको ध्यान नगएको नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र कँडेल बताउँछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले विदेशी सञ्चिति घट्न थालेकाले मदिरामा मात्रै होइन, अन्य वस्तुको आयातमा समेत प्रतिबन्ध लगाएको बताए।