कान्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपालको ‘सर्भाइभल लिभिङ थ्रु कोभिड'लाई अवार्ड
किशोर श्रेष्ठको डकुमेन्ट्री सर्भाइभल लिभिङ थ्रु कोभिडले कान्स वर्ल्ड फिल्म फेस्टिभलमा ‘बेस्ट कोभिड थीम’ अवार्ड प्राप्त गरेको छ।
फेस्टिभलमा विश्वभरका एक हजारभन्दा बढी फिल्म सहभागी थिए। ‘बेस्ट कोभिड थीम’ को फाइनलमा ४० वटा फिल्म छानिएका थिए।
तीन मिनेट ५० सेकेन्डको सर्भाइभल लिभिङ थ्रु कोभिडमा कोभिड महामारीमा नेपालीहरूले भोगेका समस्या, बाँच्नका लागि मानव जातिले गरेको संघर्ष र कोभिडलाई जितेको भोगाइ रहेको फिल्मका निर्माता समेत रहेका किशोर श्रेष्ठले बताए। “मानव जातिको संघर्षको कथा बोल्न देश सानो र कम लगानीको फिल्म भन्ने नहुँदो रहेछ,” उनले भने, “कथाले कति सन्देश बोकेको छ भन्ने हुँदो रहेछ।”
फिल्ममा मास्क र सेनिटाइजरको प्रयोगले कोरोनालाई कसरी परास्त गर्न मद्दत गर्छ भन्ने सन्देश पनि दिइएको श्रेष्ठको भनाइ छ। ड्रिम भिजनको प्रस्तुति र अफ्जल खानकाे निर्देशनमा बनेकाे डकुमेन्ट्रीले आधिकारिक अवार्ड भने २०२३ मा प्राप्त गर्नेछ।