‘निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई केले रोक्यो?’
चार वर्ष पहिले बलात्कार र हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाउन सांसदहरूले माग गरेका छन्।
प्रतिनिधि सभाको साउन १० गतेको बैठकमा बोल्दै सांसद केदार सिग्देलले सरकारले हत्यारा पत्ता लगाउन प्रयासै नगरेको दाबी गरे।
“कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको ठीक चार वर्ष भयो। तत्कालीन ओली सरकारले हत्यारालाई छूट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीयज्यूहरूले यो हलै थर्कने गरी बोलेको सुनिन्थ्यो,” सांसद् सिग्देलले शून्य समयमा बोल्दै भने, “म सोध्न चाहन्छु, देउवा सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन के के काम गर्यो? सिन्को भाँचेको छैन। गठबन्धन सरकार मौन बस्नु विडम्बना हो।”
२०७५ साउनमा बलात्कार र हत्या भएकी पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।