तस्वीरमा हेर्नुहोस् धान रोपेको खेतका धाँजा
मनसुन भित्रिएको एक महीना भइसक्दा पनि पश्चिम तराईमा पानी नपर्दा धानको बेर्ना सुक्न थालेको छ भने रोपाइँ गरेको खेतमा धाँजा परेका छन्।
दाङको दंगीशरण गाउँपालिका–३ का भीमबहादुर चौधरीले गत वर्ष असारमै रोपाइँ सकेर हर्ढवा खाएका थिए। तर, यस वर्ष भने पानी नपर्दा खेत बाँझै रहेको उनले बताए।
धानको बेर्ना सुक्न थालेपछि मुश्किलले दुई कट्ठा जमीनमा रोपाइँ गरेका थिए। अहिले रोपाइँ गरेको खेतमा पनि धाँजा परेको उनले बताए।
उनका छिमेकी मोहन चौधरीले पनि जेनतेन रोपाइँ गरेका थिए। पानी नपर्दा अहिले भने खेतमा धाँजा परेको उनले बताए।
पानी नपर्दा दाङमा धानको बेर्ना सुक्न थालेको छ भने रोपाइँ गरेको खेतमा धाँजा परेका छन्। केही स्थानमा रोपाइँ गरिएको भए पनि पानी नपरेकाले धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका अधिकृत फिर्तुमान चौधरीले बताए। “पानी परेको छैन। खेतमा धाँजा परेकाले रोपाइँ गरेका खेतमा पनि धानको उत्पादन कम्तीमा ३० प्रतिशत घट्न सक्छ,” उनले भने।
मौसमविद्हरूले भने ‘मनसुन ब्रेक’ भएकाले पानी कम परेको जनाएका छन्। कतै पानी परिरहेको भए पनि कतै नपरेको उनीहरूको भनाइ छ।