साफ च्याम्पियनशिपमा नेपालको विजयी शुरूआत
साफ च्याम्पियनशिप यू-२० फूटबल प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ।
भारतको भुवनेश्वरस्थित कलिङ्गा रङ्गशालामा भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले पराजित गरेको छ। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको हो।
खेलको ४१औं मिनेटमा कप्तान आयुष घलानको फ्री-किक प्रहारलाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा आएको बलमा झण्डै २५ यार्डबाट दीपेश गुरुङले गोल गरेका हुन्।
त्यसपछि खेलको दोस्रो हाफमा सुगम सुवालले नेपालका लागि ५७औं मिनेटमा दोस्रो गोल गरे। नेपालका लागि तेस्रो गोल क्रितिशरत्न छुन्जूले गरे। क्रितिशले ६२औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।
कप्तान आयुष घलानलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। खेलको इन्जुरी समयमा मनज्ञ नकर्मीले गोल गर्दा नेपाल ४-० ले विजयी भएको हो।
यसअघि यू-१८ र यू-१९ को नाममा हुँदै आएको च्याम्पियनशिप यस पटक यू-२० को नामबाट हुँदै छ। यसअघि नेपालले शुरूआती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो।
अब नेपालले अर्को खेलमा साउन ११ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, साउन १५ गते आयोजक भारतको सामना गर्नेछ।
राउन्ड रोबिनको अन्तिम खेल नेपालले साउन १७ गते बाङ्लादेशसँग खेल्नेछ। पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्।