कोरोना सङ्क्रमण बढ्दै, भाटभटेनीमा भने कर्मचारीलाई मास्क नलगाउन निर्देशन!
कोभिड–१९ को सङ्क्रमण बढ्दै गए पनि जनस्वास्थ्यका मापदण्ड पालना भएका छैनन्। धेरै भीडभाड हुनेमध्येको एक भाटभाटेनी सुपर मार्केटले त कर्मचारीलाई मास्क नलगाउन निर्देशन नै दिएको कर्मचारी बताउँछन्।
कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले साउन ५ गते नै सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा भीडभाड हुने ठाउँमा अनिवार्य मास्कको प्रयोग गर्न निर्देशन दिएको छ। तर, सार्वजनिक यातायात, रेस्टुरेन्ट, तरकारी बजार, शपिङ सेन्टर लगायत ठाउँमा मास्क लगाउने गरिएको छैन।
आज बिहानैदेखि साउने सोमबारको अवसर पारेर मन्दिरमा घुइँचो लागेको छ। तर, अधिकांश भक्तजनले मास्क लगाएका थिएनन्।
त्यस्तै, सार्वजनिक यातायातमा यात्रुको भीड हुने गरेको छ। तर, मास्क लगाउने गरिएको भने छैन।
यस्तै अर्को उदाहरण हो, भाटभटेनी। मानिसको अत्यधिक भीड हुने भाटभटेनी सुपर मार्केटमा त कर्मचारीले समेत मास्क लगाउन छोडेका छन्। मास्क लगाउँदा ग्राहकमा कोभिड-१९ को डर बढ्ने भन्दै मास्क नलगाउन निर्देशन दिएको भाटभटेनीमा कार्यरत एक कर्मचारीले बताए।
कोटेश्वरस्थित भाटभटेनीमा कार्यरत कर्मचारीले माथिबाटै मास्क नलगाउन निर्देशन आएको बताए। “पहिले कोभिड-१९ अलिक कम भएपछि सबैलाई मास्क नलगाउन भनेको थियो, त्यसपछि मास्क लगाउने निर्देशन नआएकाले हामी कसैले लगाएका छैनौं,” कोटेश्वर भाटभटेनीमा कार्यरत एक कर्मचारीले भने।
ललितपुरको पाटनस्थित कृष्णगल्लीको भाटभटेनीमा कार्यरत एक कर्मचारीले भाटभटेनीमा छिर्दा मास्क खोल्ने र बाहिर हिंड्दा मास्क लगाउने गरेको बताइन्। “कोरोनाको डर त लाग्छ, तर माथिबाट मास्क नलगाउनु भनेकाले लगाएका छैनौं,” ती कर्मचारीले भनिन्।
अनामनगर र कलंकीको भाटभटेनीमा कार्यरत कर्मचारीले पनि ‘माथिको आदेश’ भन्दै मास्क नलगाएको बताए। कलंकीस्थित भाटभटेनी सुपरस्टोरको स्टोर म्यानेजर आरती उप्रेतीले कोरोना कम भएको वला मास्क नलगाउन निर्देशन दिएको बताइन्। “सबै ठाउँमा खुलै छ, अरू ठाउँमा मास्क लगाउन थालेपछि हामी पनि लगाउन निर्देशन दिन्छौं,” उनले भनिन्।
कोरोना सङ्क्रमण बढिरहेको वेलामा मास्क नलगाउँदा समुदायमा सङ्क्रमण फैलने विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार, यस्ता धेरै भीडभाड हुने ठाउँ सङ्क्रमण सार्ने अखडा बन्न सक्छन्। सुपर मार्केट, विद्यालय, सार्वजनिक यातायात र अन्य ठाउँमा लापरवाही धेरै भएर समुदायमा सङ्क्रमण फैलिन थालेपछि अनिवार्य मास्क लगाउन निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए। “भीडभाड हुने ठाउँमा मास्क मात्रै लगाउने हो भने सङ्क्रमणको चेन ब्रेक हुन्छ,” डा. अधिकारीले भने।
कोरोना सङ्क्रमण बढिरहेको वेला मास्क नलगाउनु जनस्वास्थ्यमाथि खेलबाड भएको सङ्क्रामक रोग विशेषज्ञ अनूप सुवेदीले बताए। “सङ्क्रमण व्यापक फैलिइरहेको वेला यस्तो लापरवाही गर्दा व्यक्ति, परिवार हुँदै समुदायमै सङ्क्रमण फैलिई मानिसको मृत्यु समेत हुन सक्छ,” डा. सुवेदीले भने।
अहिले ओमिक्रोन भेरिएन्टको ‘बिएफ.१’ पुष्टि भएको छ। योसँगै नेपालमा ओमिक्रोनका ६ वटा प्रजातिले सङ्क्रमण फैलाइरहेका छन्। यी प्रजाति सङ्क्रामक भएकाले सङ्क्रमणदर पनि बढ्दै गएको छ भने अस्पताल भर्ना हुने बिरामी पनि थपिन थालेका छन्।
यस्तो वेला जनस्वास्थ्यको मापदण्ड पालना नगरे थप सङ्क्रमण फैलिई महामारी नियन्त्रण बाहिर जाने विज्ञहरू बताउँछन्। “सबैले लापरवाही गर्दै जनस्वास्थ्यको मापदण्ड पालना नगरेपछि सङ्क्रमणको जोखिम थप बढ्न जान्छ,” डा. सुवेदी भन्छन्।