एक वर्षमा पौने चार खर्बको कृषिजन्य वस्तु आयात, मकै मात्रै साढे १९ अर्बको
नेपाललाई परिचय दिंदा कृषिप्रधान विशेषण झुन्ड्याउन छोडिएको छैन। तथ्याङ्कले पनि दुई तिहाइ जनसङ्ख्या कृषिमै आश्रित भएको देखाउँछ, तर कृषिप्रधान मुलुकमा हरेक वर्ष विदेशबाट आयात हुने कृषिजन्य वस्तुको आयातको ग्राफ भने उकालो चढ्दै गएको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार, गत वर्ष नेपालले तीन खर्ब ७८ अर्ब ६० करोड मूल्यका कृषिजन्य वस्तु आयात गरेको छ। यो वर्ष दिनभर नेपालले विदेशबाट आयात गरेको सम्पूर्ण वस्तुको करीब २० प्रतिशत हो।
आर्थिक वर्ष २०७७/७८ मा नेपालले तीन खर्ब २३ अर्ब ६६ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको थियो। अर्थात्, वर्ष दिनको बीचमा कृषिजन्य वस्तु आयात झण्डै १७ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७६/७७ मा कृषिजन्य वस्तुको आयात दुई खर्ब ४३ अर्ब थियो। तथ्याङ्कले कृषिजन्य वस्तुको आयात पाँच वर्ष पनि नपुग्दै दोब्बर भएको देखाउँछ।
आर्थिक वर्ष २०७४/७५ मा नेपालले दुई खर्ब चार अर्बको कृषिजन्य वस्तु आयात गरको थियो। आर्थिक वर्ष २०७३/७४ मा कृषिजन्य वस्तुको आयात करीब पौने दुई खर्ब थियो।
भन्सार विभागको तथ्याङ्क अनुसार, गत वर्ष नेपालले ७४ अर्ब २८ करोड मूल्यको अन्न आयात गरेको छ। यसमध्ये धानचामल ४७ अर्ब ५७ करोडको र मकै १९ अर्ब ६५ करोड मूल्यको आयात भएको छ। त्यस्तै, ३६ अर्ब ५४ करोडको तरकारी, झण्डै २५ अर्बको फलफूल आयात भएको छ।
सरकारले हरेक वर्ष आधारभूत कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने लक्ष्य सार्वजनिक गर्दै आएको छ। चालू आर्थिक वर्षको बजेटले पनि अन्न, तरकारीको आयात ३० प्रतिशत घटाएर पाँच वर्षभित्र कृषिजन्य वस्तुमा आत्मनिर्भरता सहित निर्यात गर्ने लक्ष्य तोकेको छ। तर, देशभित्रको बढ्दो मागका तुलनामा कृषिजन्य वस्तुको उत्पादन बढ्न नसक्दा आयात बढिरहेको छ।
गत वर्ष नौ अर्ब चार करोडको चियाकफी, दुई अर्ब १५ करोडको दूध र दूधजन्य पदार्थ पनि आयात भएको छ।
परिमाणमा कृषिजन्य वस्तुको निर्यात पनि ठूलै देखिन्छ। गत वर्ष नेपालले एक खर्ब २५ अर्ब ५१ करोड मूल्यको कृषिजन्य वस्तु निर्यात गरेको देखिन्छ। यो कुल निर्यात रकमको करीब ६३ प्रतिशत हो।
खास गरी, तेस्रो मुलुकबाट पाम आयल, भटमासको तेल आयात गरी सामान्य प्रशोधनपश्चात् भारत निकासी गर्ने धन्दाका कारण कृषिजन्य वस्तुको आयात र निर्यात दुवै उच्च देखिएको हो । बितेको वर्ष नेपालले रु.९३ अर्ब ७४ करोडको तेल, रु.नौ अर्ब ३८ करोडको चियाकफी निर्यात गरेको छ ।
गत वर्ष कृषिजन्य वस्तुमा नेपालको खुद व्यापार घाटा रु.दुई खर्ब ५३ अर्ब छ।