नेपालमा पनि मंकीपक्सको जोखिम, कस्तो छ तयारी?
संसारभर मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य आपत्काल घोषणा गरेको छ भने छिमेकी देश भारतमा पनि सङ्क्रमण देखिएको छ।
डब्लुएचओको तथ्याङ्क अनुसार, साउन ८ गतेसम्म ७५ देशका १६ हजार १६ जनामा मंकीपक्सको सङ्क्रमण देखिएको छ। यसको सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएकाे छ। यूरोपमा ११ हजार ८५६ जना सङ्क्रमित भएका छन्।
विश्वव्यापी रूपमा सङ्क्रमण फैलिंदा त्यसको असर नेपालमा पनि पर्न सक्ने विज्ञहरू बताउँछन्। संसारका जुनसुकै देशमा सङ्क्रमण फैलिंदा त्यसको असर पर्ने बताउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भन्छन्, “भारतमा सङ्क्रमण भेटिएपछि त झनै सतर्क हुनुपर्छ।”
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालमा पनि मंकीपक्स सङ्क्रमणको जोखिम बढेको बताउँछन्। तर, नेपालमा सङ्क्रमण फैलिए पनि ढिलो मात्र पहिचान हुने सम्भावना धेरै रहेको उनको भनाइ छ।
डा. पुनका अनुसार, मंकीपक्सको सङ्क्रमण भए पनि केहि समयपछि आफैं निको हुने र ज्यान नै जोखिममा पार्ने सम्भावना कम छ। जसले गर्दा यसको सङ्क्रमण पहिचान हुन समय लाग्न सक्ने उनी बताउँछन्। “मंकीपक्सले शरीरका अन्य भागभन्दा मलद्वार र गुप्ताङमा अत्यन्त धेरै फोका बनाउने भएकाले मानिसहरू छिटो परीक्षण गराउन नआउन सक्छन्,” डा. पुन भन्छन्। त्यसैले पनि सतर्कता अपनाउनु जरुरी रहेको उनको भनाइ छ।
नेपालमा कस्तो छ तयारी?
असार पहिलो साता साता मंकीपक्सका जस्तै लक्षण भएका एक बिरामीलाई टेकु अस्पतालमा भर्ना गरिएको थियो। तर, ती व्यक्तिलाई मंकीपक्सको सङ्क्रमण भने पुुष्टि भएन। तथापि, आवश्यक तयारी थालिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन्।
मंकीपक्स विश्वव्यापी रूपमा देखिन थालेपछि सीमामा निगरानी बढाउन थालिएको छ। त्यस्तै, ल्याबका जनशक्तिलाई ‘अलर्ट’ राखेको र देशभरका स्वास्थ्यकर्मीलाई शङ्कास्पद केसबारे ‘गाइडलाइन’ दिएको सहप्रवक्ता अधिकारीको भनाइ छ। “हामीले सीमानाकामा शङ्कास्पद व्यक्ति छिरेमा जाँच गर्ने र समुदायमा शङ्कास्पद व्यक्ति देखिएमा छाला रोग विशेषज्ञकहाँ पठाउन निर्देशन दिएका छौं,” उनले भने।
त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि परीक्षण गर्ने तयारी गरेको छ। डब्लूएचओले मंकीपक्स परीक्षण गर्ने रिएजेन्ट पठाइसकेको प्रयोगशाला निर्देशक रुना झाले बताइन्। “अबको दुई–तीन दिनमा शङ्कास्पद बिरामीको नेपालमै परीक्षण हुन्छ,” झाले भनिन्।
उनका अनुसार, अहिलेसम्म नेपालमा चिकेनपक्सका सङ्क्रमित भेटिए पनि मंकीपक्सको सङ्क्रमण देखिएको छैन। “मंकीपक्स शङ्का गरेर परीक्षण गरिएका नमूनामा चिकेनपक्स देखिएको छ, त्यसैले डराउनुपर्ने अवस्था छैन,” झाले भनिन्, “सतर्कता भने अपनाउनुपर्छ।”
के हो मंकीपक्स?
चिकित्सकहरूका अनुसार, यो रोग मंकीपक्स भाइरसका कारण लाग्छ। भाइरल जुनोटिक सङ्क्रमणबाट हुने यो रोग जनावरबाट मानिसमा सर्छ। विशेष गरी बाँदर तथा मुसाका प्रजातिबाट मानिसमा फैलिने गरेको छ।
यो रोग मानिसबाट मानिसमा पनि सर्छ। मंकीपक्स सङ्क्रमण भएको व्यक्तिको नजिक जाँदा पनि यो रोग सर्ने चिकित्सकहरू बताउँछन्।
सन् १९५८ मा पहिलो पटक बाँदरमा देखिएकाले यसको नाम मंकीपक्स राखिएको हो। मानिसमा भने सन् १९७० मा मात्र देखिएको थियो।
यो रोग जनावरबाट मानिसमा सरेको भए पनि मानिसबाट जनावरमा सरेको भने तथ्याङ्क छैन। तर, सङ्क्रमित व्यक्तिको नजिकका घरपालुवा जनावरमा पनि सर्ने सम्भावना धेरै रहेको डब्लूएचओले जनाएको छ।
कसरी सर्छ?
मंकीपक्स सङ्क्रमितको नजिक रहेका व्यक्तिमा यो रोग सर्न सक्छ। त्यस्तै, सङ्क्रमितसँग यौनसम्बन्ध राख्दा, चुम्बन गर्दा, अँगालो हाल्दा पनि सर्न सक्छ। सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पनि आवश्यक सावधानी तथा सङ्क्रमण सर्न नदिन सुरक्षित उपायहरू अपनाउनुपर्छ।
त्यस्तै, भर्खर जन्मेका शिशु, बालबालिका तथा रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति, गर्भवती महिलालाई सङ्क्रमणको जोखिम हुन्छ। उनीहरूलाई गम्भीर सङ्क्रमण गर्ने तथा कतिपय समयमा मृत्यु हुने सम्भावना पनि रहन्छ।
कस्ता लक्षण देखिन्छन्?
मंकीपक्स सङ्क्रमण भएका व्यक्तिमा कसैलाई सामान्य लक्षण देखिन्छ भने कसैलाई गम्भीर खालका लक्षण पनि देखिन्छन्, जसलाई उपचारको आवश्यकता पर्छ।
सामान्य लक्षण भनेको ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, कम्मर दुख्ने, लिम्फ नोड सुन्निने गर्छ। यस लगतै शरीरमा खटिरा जस्ता फोका आउन थाल्छन्, जुन दुईदेखि तीन हप्तासम्म रहन्छन्। यस्ता फोकाहरू मुख, हात, खुट्टा, आँखा, ओठ, घाँटी तथा गुप्ताङ्गमा आउने गर्छन्।
फोकाहरू फुट्नुअघि फुल्ने, पानी जम्ने र विस्तारै सुक्दै जान्छन्। यी लक्षण दुईदेखि तीन हप्तासम्म देखिन्छ। फोकाहरू नफुटे वा नसुकेसम्म अरूलाई सार्न सक्ने सम्भावना रहन्छ।
तर, कतिपय व्यक्तिमा यो गम्भीर तथा ज्यान लिन सक्ने समेत हुन्छ। यसका कारण छालाका समस्या हुने, निमोनिया, आँखामा समस्या देखिन सक्छ। पहिले पनि यो रोगका कारण एकदेखि १० प्रतिशत मानिसको मृत्यु भएको थियो।
के मंकीपक्सको खोप छ?
मंकीपक्स लाग्न नदिने खोप छ। धेरै वर्षअघि मानिसलाई ‘स्मलपक्स’ सङ्क्रमण हुँदा खोपको अनुसन्धान गरी उत्पादन गरिएको थियो। सोही खोप हालको मंकीपक्स सङ्क्रमणका लागि पनि प्रयोग गर्न मिल्ने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले (सीडीसी) जनाएको छ।
कतिपय देशले उच्च जोखिममा रहेका व्यक्तिलाई खोप लगाउन सुझाएका छन्। सङ्क्रमितको नजिक रहेकालाई मात्र खोप दिन सुझाइएको छ भने सबैलाई खोप लिन आवश्यक छैन।
कुन कुन देशमा छ जोखिम?
मंकीपक्स सङ्क्रमण कहाँबाट फैलियो भन्ने तथ्य पत्ता लगाउनै बाँकी छ। तर, सन् २०२२ मा अफ्रिकी देशहरूबाट यो सङ्क्रमण फैलिएको डब्लूएचओले जनाएको छ। यो नाइजेरिया, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा देखिएको थियो।
हाल ७५ वटा देशमा सङ्क्रमण पुष्टि भइरहेको छ। दक्षिणएशियामा पनि यसको सङ्क्रमण देखिएको छ। भारतको राजधानी दिल्ली र केरलमा चार जनामा सङ्क्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी सङ्क्रमित स्पेनमा छन्, जहाँ तीन हजार १२५ जनामा पुष्टि भएको छ। त्यस्तै आठ वटा देशमा पाँच सयभन्दा बढी सङ्क्रमित भेटिएका छन्। अमेरिकामा दुई ३१६, बेलायतमा दुई हजार १३७, जर्मनीमा दुई हजार २६८, फ्रान्समा एक हजार ४५३, ब्राजिलमा ५९२, क्यानडामा ६१५, नेदरल्यान्डमा ७१२ र पोर्चुगलमा ५८८ जनामा सङ्क्रमण देखिएको छ।
कसरी हुन्छ उपचार?
सङ्क्रमित व्यक्तिले चिकित्सकको सल्लाह लिन जरुरी छ। उपचार विना पनि निको बनाउन सकिन्छ। दुखाइ र ज्वरो ज्यादा भए चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न सकिन्छ।
विशेष गरी मंकीपक्सबाट सङ्क्रमित भएका व्यक्तिले पानीको सेवन गरिरहनुपर्छ, ताकि शरीरलाई ‘हाइड्रेट’ राख्न सकियोस्। त्यस्तै, खानेकुरा, झोलिलो पदार्थ खाने र पर्याप्त सुत्नुपर्छ। एक्लै आइसोलेशनमा बसेका व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ भने परिवार तथा आफन्तसँग विभिन्न प्रविधि मार्फत कुराकानी गरिराख्नुपर्छ। त्यस्तै, व्यायाम पनि गर्नुपर्छ।
मंकीपक्स भएका व्यक्तिले खटिरा आएको ठाउँमा सकेसम्म चिलाउनुहुन्न। छाला छुनुअघि हात राम्ररी सफा गर्ने, छालालाई सुक्खा राख्ने तथा खुला राख्नुपर्छ। परिवारसँग बस्दा भने घाउ छोपेर राख्नुपर्छ। फोका आएको ठाउँहरूमा सफा तथा उमालेको पानीले सफा गर्ने, अनुहार नुनपानीले सफा गर्ने तथा तातोपानीमा बेकिङ सोडा राखेर नुहाउन सकिन्छ।