सांसदहरू हाजिर लगाएर निस्केपछि संसद् बैठक स्थगित
सांसदहरू हाजिर लगाएर बाहिर निस्केपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले नियमापत्ति गरे। उनले प्रतिनिधि सभाको बैठकमा बहुमत सांसद सङ्ख्या भए वा नभएको निर्क्योल गर्न माग गरे।
त्यसपछि सभामुख सापकोटाले सांसदहरूको सङ्ख्या गणना गर्न लगाए। संसद् सचिवालयका कर्मचारीले गणना गर्दा आवश्यक सांसद सङ्ख्या पुगेन।
त्यसपछि सभामुख सापकोटाले भने, “नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपूरक सङ्ख्या यकिन गर्दा यो प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको सङ्ख्या ६७ रहेकाले उक्त गणपूरक सङ्ख्या नपुग भएको देखिएकोले यो बैठक आजै १५ मिनेटका लागि स्थगित हुन्छ।”
सांसदहरू बैठकमा नबस्ने गरेकोले पटक पटक प्रतिनिधि सभाको बैठक स्थगित हुँदै आएको छ।