मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली
मौद्रिक नीति आएपछिको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ। आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले उकालो लागेको छ।
नेपाल राष्ट्र ब्यांकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो। जसले शेयर बजारलाई केही राहत दिएको विश्लेषण भइरहेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, आइतबार नेप्से ६१.०५ अङ्कले बढेर दुई हजार ७८.५१ बिन्दुमा पुगेको छ। शुक्रबारका तुलनामा ३.०३ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अङ्कले बढेर ३९८.३३ मा पुगेको छ। शुक्रबारको तुलनामा ३.१३ प्रतिशतले बढेको छ।
आइतबार २१९ कम्पनीका ६४ लाख २३ हजार १५६ कित्ता शेयर दुई अर्ब ७३ करोड नौ लाख ३७ हजार १९७ रुपैयाँ कारोबार भएको छ। आज सबै उपसमूहको शेयर मूल्य बढेको छ।