स्वास्थ्य बीमा रकम तत्काल भुक्तानी गर्न सांसदको माग
स्वास्थ्य बीमा रकम तत्काल भुक्तानी गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डिला संग्रौला पन्तले स्वास्थ्य बीमाको भुक्तानी रोक्नु गलत भएको बताइन्। “स्वास्थ्य संस्थाहरूको मानवीय तथा प्राविधिक क्षमता वृद्धि गरेर आम जनतालाई भरपर्दो सेवा उपलब्ध गराउनुपर्नेमा सरकारले नै भुक्तानी रोक्ने काम अत्यन्त गैरजिम्मेवार हो,” सांसद पन्तले भनिन्।
आम नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने माध्यम स्वास्थ्य बीमा बनेको बताइन्। “स्वास्थ्य बीमाको मुख्य विशेषता भनेकै अस्पतालमा रुपैयाँ लिएर होइन, बरु कार्ड लिएर जाने र उपचार पाउनु नै हो,” सांसद पन्तले भनिन्, “नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा अन्तर्गतको सम्पूर्ण सेवासुविधामध्ये स्वास्थ्य बीमा सबभन्दा सजिलो र उपयोगी सेवा हो। आम नागरिकको अप्रत्याशित आर्थिक जोखिम कम गर्ने एक मात्र बलियो र उपयुक्त माध्यम स्वास्थ्य बीमा हो।”
यसमा देखिएका समस्या समाधान गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमाको समस्या समाधान गर्न निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।
यससँगै उनले मंकीपक्सका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएकी छन्। भारत लगायत संसारका ७५ देशमा मंकीपक्स देखिएको उल्लेख गर्दै नेपालमा पनि सतर्कता अपनाउन आवश्यक भएको उनको भनाइ थियो।