भारतले नेपालीलाई ‘अग्निपथ’ योजना अन्तर्गत लिए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ: भीम रावल
नेकपा (एमाले)का सांसद भीम रावलले भारतले ल्याएको ‘अग्निपथ’ योजना अन्तर्गत नेपाली युवालाई लिएमा गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद रावलले भारतले ल्याएको ‘अग्निपथ’ योजनाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। “भारतले ‘अग्निपथ’ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न?” रावलले भने, “त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ। त्यसपछि नेपालले गोर्खा भर्ती सन्धि खारेजीको बाटोमा जानुपर्छ।”
भारत सरकारले सुरक्षा निकायमा भर्ती गर्नका लागि नयाँ ‘अग्निपथ’ योजना ल्याएको छ। यो योजना अन्तर्गत युवालाई चार वर्षका लागि भर्ना लिइनेछ। उनीहरूलाई तालीम दिइनेछ भने चार वर्षपछि केही उपदान दिएर अवकाश दिने योजना छ।
यसरी चार वर्ष ‘अग्निपथ’ मा काम गरेका युवा सुरक्षा निकायमा प्रवेश गर्न पाउनेछन्। यसको भारतमा विरोध हुँदै आएको छ।
गोर्खा भर्तीमा यो योजना लागू गर्न नहुने सांसद रावलको भनाइ थियो। तर, गोर्खा भर्तीमा यो योजना लागू हुने कि नहुने केही खुलाइएको छैन।
एमाले सांसद रावलले यसबारे सरकारसँग जवाफ माग गरेका हुन्।